शिक्षा शाखाअन्तर्गतका ६१, स्वास्थ्य शाखाका ११ र पालिका तथा वडा कार्यालयमा कार्यरत २० जना कर्मचारी हटाइएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
परासी — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले ९२ जना कर्मचारी कटौती गरेको छ । कात्तिक १ बाट लागू हुने गरेर पालिकाले करार तथा ज्यालादारी कर्मचारी हटाएको हो ।
शिक्षा शाखाअन्तर्गतका ६१, स्वास्थ्य शाखाका ११ र पालिका तथा वडा कार्यालयमा कार्यरत २० जना कर्मचारी हटाइएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ‘केन्द्रबाट ज्यालादारी तथा करार कर्मचारी कटौती गर्नुपर्ने, आन्तरिक आयले मात्र करार र ज्यालादारी कर्मचारीलाई सुविधा दिनु भन्ने परिपत्रअनुसार कर्मचारी कटौती गर्नु परेको छ,’ यादवले भने,‘अब हामीलाई कर्मचारी अभाव भएको छ । आवश्यक कर्मचारी र जनशक्ति प्रदेश र केन्द्र सरकारले व्यवस्था गर्नु पर्दछ ।’
पालिकाको आन्तरिक स्रोत १ करोड ३० लाख मात्र रहेको र केन्द्रले पठाउने बजेटबाट तलब भुक्तानी गर्न नपाउँदा आन्तरिक आयले मात्र खर्च व्यहोर्न नसक्ने पालिकाको भनाइ छ ।
केन्द्र सरकारले खर्च कटौती गर्ने भन्दै ज्यालादारी र स्वीकृत दरबन्दीबाहेकका कर्मचारी हटाउन परिपत्र गरेको छ । जिल्लाका अन्य पालिकाले पनि केन्द्रको परिपत्रअनुसार कर्मचारी कटौती गर्नुपर्ने भए पनि कार्यान्वयन गरेका छैनन् ।
