विभिन्न चाडबाड, मेला–पर्व र सुखद् जमघटहरुमा प्रस्तुत गरिने ख्याली, बनगारी, सिंगारु र पैसेरु जस्ता विभिन्न मौलिक भाकाहरु अहिलेको बा पुस्तासम्म मात्रै सीमित हुने जोखिम बढेको हो ।
What you should know
रुकुम पूर्व — ‘अग्ला लेख कैलाशैमा न्याउलीम न्याहो-न्याहो,बाचिउ र भेट भयो संगी फेरि क्या हो, क्या हो।’
सिस्ने गाउँपालिका–३ पोखरामा यसपल्टको तिहारको अवसरमा भएको मौलिक नाचगानको जमघटमा ८६ वर्षीय स्थानीय मनराम बुढाले सिंगारु भाकामा यी शब्दहरु प्रस्तुत गरे । गीतमा आफूहरु बाँचेर भेट भएको र अघुँ सालमा भेट नहोला कि भन्ने पीर गरे । आफूहरुले जसोतसो बचाएर राखेको मौलिक नाचगान नयाँ पुस्ताले अनुसरण नगरेका चिन्तासमेत व्यक्त गरे ।
यो अहिलेको आम चिन्ता हो । साँच्चै नै मौलिक रीति–संस्कृति र गीत–संगीत अनि नाचहरुको पुस्तान्तरण हुन नसकिरहेको तीतो यथार्थ हाम्रासामू छ । विभिन्न चाडबाड, मेला–पर्व र सुखद् जमघटहरुमा प्रस्तुत गरिने ख्याली, बनगारी, सिंगारु र पैसेरु जस्ता विभिन्न मौलिक भाकाहरु अहिलेको बा पुस्तासम्म मात्रै सीमित हुने जोखिम बढेको पोखराकै स्थानीय कलाकार तेजेन्द्र बुढा बताउँछन् ।
‘हामीले हाम्रा बाजे र बाहरुबाट सिकेर यी भाकामाथि सुरताल भर्न अनि नाचगान गर्न सकेका हौं । यसमा रमाइलो पनि छ । तर हाम्रा छोरा–नातिलाई यसप्रति कुनै प्रवाह छैन, ’ चिन्ता व्यक्त गदै खड्काले भने, ‘यसरी त कसरी रहिराख्ला र यो संस्कृति । हामी पछिको पुस्ताले यसैगरी कायम राख्ने कुरामा मलाई शंका छ ।’
पहिलो कुरा त गाउँमा युवा पुस्ताको उपस्थिति नै बर्सेनि कम हुँदै गइरहेको भन्दै अर्का स्थानीय डिलबहादुर केसीले उनीहरुको प्राथमिकता अरु–अरु कुराहरुमा भएको बताए । ‘नयाँ पुस्ताको खानपान, उठबस र रंग–रमाइलो गर्ने तवर–तरिका नै अर्कै छ । हाम्रीसँग खुलेर कुराकानी गर्ने, र हाम्रा राम्रा कुराको नक्कल गर्ने जागर नै युवाहरुमा देख्दिनँ,’ उनले भने ।
पहिला–पहिला अगोनादेखि आँगनसम्म विभिन्न चाडबाड र बेला–मौकामा सबै उमेर समूहका मान्छेहरु एक ठाउँमा भएर खुलेर संवाद गर्ने अनि सुख–दुःख साट्ने क्रम अब भने टुट्दै गएको पोखराकै पूर्वशिक्षक महेन्द्र केसी बताउँछन् । ‘छोराछोरीसँग बसेर लामा–लामा कुराकानी हुन्थे, छलफल र संवाद हुन्थे । केही घर–व्यवहारका कुरा, केही रीति संस्कृतिका कुरा अनि केही नाता–सम्बन्धका कुरा । तर अहिले त कुरा नै केही छैन जस्तो पो भयो । बडो बैराग लाग्दैछ,’ उनले थपे, ‘सिंगारु लगायतका मौलिक गीत र नाच हाम्रा नीधि हुन् यसको संरक्षण जरुरी छ । यसका लागि नागरिक र सरकारको साझा सक्रियता आवश्यक छ ।’
मौलिक नाचगानको पुस्तान्तरण नहुँदा यसको प्रस्तुतिकरणको प्रभावकारिता पनि घट्दै गएको छ । यसलाई जागृत बनाउने र यसमा रमाउनेहरु पनि घटेका छन् । स्थानीय ज्येष्ठ नागरिक मधु खत्रीले यसप्रकारका मौलिक गीतबाटै सुख–दुःख अनि माया–प्रोम अभिव्यक्त गर्ने गरेको अनुभव सुनाइन् । भनिन्, ‘गीतका गेरा (शब्द)बाटै बैरागी (कलाकार)ले आफ्ना दुख्ख सुनाउँथ्यो अनि कोई–कोईले त मायापिरिम पनि लाउँथे । अनि सुन्ने, हेर्नेको भीड हुन्थ्यो । कति रमाइलो हुन्थ्यो त्यो बेला । तर अहिले त सुनिदिने मान्छे छैन ।’ पुराना दिन स्मरण गर्दै उनले पनि चिन्ता व्यक्त गरिन् ।
