माथागढी गाउँपालिका–४ मा ३७ वर्षीय मीनबहादुर विश्वकर्माले पैसा नदिएको भन्दै वृद्ध दम्पतीमाथि धारिलो हतियारले प्रहार गर्दा एकको मृत्यु र एक घाइते भएका छन्।
What you should know
पाल्पा — पाल्पाको माथागढी गाउँपालिका–४, सौरेनी झडेवामा धारिलो हतियार प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
स्थानीय ३७ वर्षीय मीनबहादुर विश्वकर्माले प्रहार गर्दा ७६ वर्षीया फुलमाया जिसीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान् ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएका छन्। घाइतेलाई लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल सारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरीका अनुसार सोमबार राति करिब साढे १२ बजे कुटपिटको सूचना पाएपछि प्रहरी चौकी माथाबाट प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
प्रहरी पुगेका बेला फुलमायाको मृत्यु भइसकेको र प्रेमबहादुर गम्भीर घाइते अवस्थामा फेला परेका थिए। अनुसन्धान गर्दा झडेवाका मीनबहादुर विश्वकर्माले नै आक्रमण गरेको खुल्न आएको प्रहरीले जनाएको छ। राति नै खोजतलासका क्रममा उनी आफ्नै घरमा लुकेर बसेको अवस्थामा फेला परेका थिए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए।
माथागढी गाउँपालिका–४ का वडाध्यक्ष तथा प्रवक्ता शंकर दर्लामीका अनुसार वृद्ध दम्पती घरमा सँगै बस्थे। मीनबहादुर पैसा माग्न आएका थिए, तर नदिएपछि झगडा भई उनले धारिलो हतियार प्रहार गरेको स्थानीयले बताएका छन्। केही दिनअघि मात्रै जिसी दम्पतीले वृद्ध भत्ता बुझेका थिए। पैसा नदिएपछि घटना घटाएको बताइएको छ।
घाइते प्रेमबहादुर र मृतक फुलमाया जिसीको पारिवारिक सम्बन्ध मीनबहादुरका लामाका रूपमा रहेको दर्लामीले बताए। जिसी दम्पतीकी एक छोरी रहेकी छन्।
