सेनाको चेकपोस्टमा ट्रक रोकिएको बेला स्कुटर ठोक्किएर २४ वर्षीय युवकको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका प्रहरी निरीक्षकले जनाएका छन्।
बर्दिया — पूर्व–पश्चिम राजमार्गअन्तर्गत ठाकुरबाबा नगरपालिका–४, सेनाको चेकपोस्ट नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
ट्राफिक प्रहरी कार्यालय बर्दियाका अनुसार सेनाको चेकपोस्टमा सुपप्र १०० ख ३७९९ नम्बरको ट्रक रोकिएर टाइम कार्ड बुझाउने क्रममा भे १२ प १७०० नम्बरको स्कुटर ठोक्किएको थियो ।
दुर्घटनामा बारबर्दिया नगरपालिका–११ का २४ वर्षीय सुदीप थारुको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुधीर खड्काले बताए । स्कुटरमा सवार सोही ठाउँका २१ वर्षीय आशिष थारु र २४ वर्षीय सुदीप चौधरी गम्भीर घाइते भएका छन् ।
घाइतेहरूलाई नगर अस्पताल, भुरीगाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
