जिल्लाभरिकै निषेधाज्ञा आइतबार साँझबाट हटाइएको हो ।
नेपालगन्ज — नवरात्रमा राखिएको देवीको मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादपछि बाँके प्रशासनले असोज १८ मा जारी गरेको निषेधित क्षेत्रको आदेश १५ दिनपछि हटाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै राति १० बजेदेखि निषेधाज्ञा हटाएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जारी सूचनामा हाल जिल्लाको शान्ति-सुरक्षाको अवस्था सुधार भई सामान्य भएको र हिन्दुहरूको महान् पर्व दीपावली हर्षोल्लासपूर्वक मनाउने वातावरण सिर्जना गर्ने हेतुले उक्त निषेधित क्षेत्र घोषणा हटाइएको भनिएको छ ।
प्रशासनले विवादपश्चात् शान्ति सुरक्षा कायम गर्न जरुरी भएको भन्दै डुडुवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो ।
निषेधित क्षेत्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ को सुइया पिप्रहवा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को भजिपुरवा, जंगलिपुरवा, लोहरनपुरवा तथा नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को सम्पूर्ण क्षेत्रमा लगाएको थियो । जिल्लाभरिकै निषेधाज्ञा आइतबार साँझबाट हटाइएको हो ।
