बुटवल बसपार्कमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिहार बिदापछि घर फर्कंदै गरेका यादवलाई बसले ठक्कर दिँदा ज्यान गएको छ ।

कार्तिक ३, २०८२

घनश्याम गौतम

Pedestrian dies after being hit by bus at Butwal Bus Park

बुटवल — बुटवलमा बसको ठक्करबाट सोमबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा लु २ ख ४०९७ नम्बरको बसको ठक्करबाट पैदलयात्री कपिलवस्तुको विजयनगर गाउँपालिका–७, बडसुदुवा निवासी ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले यादवलाई ठक्कर दिने बस र चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको बताए ।

बसले ठक्कर दिएपछि यादवलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बुटवलमा पेन्टिङको काम गर्दै आएका यादव तिहारको बिदा भएपछि बिहान घर जान बसपार्कतर्फ जाँदै गर्दा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully