गाउँमै माला बेच्न भ्याइ नभ्याइ

सोमबार ११ जना महिलाले माला तयार गरिरहेका छन् । एक जना महिलाले दिनमा ७० वटासम्म माला उनेर तयार गर्छन् । आइतबार १३ सय माला बिक्री गरेकाे फूल कृषक भाटले बताए ।

कार्तिक ३, २०८२

वीरेन्द्र केसी

It's hard to sell garlands in the village.

अर्घाखाँची — पाखोबारी जहाँ वर्ष दिन दुःख गरेर ६ महिनालाई खान पुग्दैनथ्यो । कहिलेकाहीँ त अन्नबालीको बीउसमेत फर्कन मुस्किल थियो । अहिले त्यहाँ ढकमक्क फूल फुलेका छन् ।

सञ्चारमाध्यम र युटुबमार्फत फूल खेतीबारे जानकारी लिएपछि शितगंगा नगरपालिका–१३ सिमलपानीको कीर्तिपुर डाँडामा स्थानीय बुद्ध आधारभूत विद्यालयका शिक्षक तेजबहादुर भाटले  फूल खेती गरेका हुन् । त्यही पाखोबारीमा अघिल्लो वर्ष उनले अन्नबालीको सट्टा फूल रोपे । ३ रोपनी जग्गामा फूल खेती राम्रै भएपछि हौसिएका भाटले पाँच रोपनी थपेर अहिले आठ रोपनी बारीमा ढकमक्कै सयपत्री, मखमली लगायतका फूल फुलाइरहेका छन् । डाँडामा पहेंलै फूल खेती भएपछि गाउँले पनि छक्क परेका छन् । 

तिहारका बेला उत्पादन भएका फूल र माला बेच्च अहिले उनलाई भ्याइनभ्याइ छ । ‘अघिल्लो वर्ष ८० हजार रुपैयाँ आम्दानी भएको थियो,’ उनले भने, ‘यसपालि तिहारमा तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ भन्ने अनुमान छ । माला स्थानीय गाउँ र कपिलवस्तु, बुटवललगायतका सहरमा निर्यात हुन्छ ।’

गाउँका महिलाले बगैंचाबाट फूल टिप्ने र माला तयार गरिरहेका छन् । भाटले आफूले आम्दानी गरेसँगै गाउँका महिलालाई पनि काम दिएका छन् । सोमबार ११ जना महिलाले माला तयार गरिरहेका छन् । एक जना महिलाले दिनमा ७० वटासम्म माला उनेर तयार गर्छन् । भाटले महिलालाई दैनिक ६ सय रुपैयाँका दरले ज्याला दिन्छन् । आइतबार १३ सय माला बिक्री गरेकाे उनले बताए । It's hard to sell garlands in the village.

एउटा माला ८० रुपैयाँ र फूल ३ सय ५० रुपैयाँमा घरबाटै बिक्री भइरहेको उनले बताए । यसरी सयपत्री, मखमलीको माला तिहारमा मात्रै होइन, अरु बेला पनि बिक्री हुन्छ । कुनै कार्यक्रम, विवाह, पूजापाठमा अतिथि सत्कारमा खादाभन्दा माला आकर्षण देखिने भएकाले आयोजकको रोजाइ फूलका मालातिरै हुन्छ ।

‘शुभकार्यदेखि मृत्यु हुँदासम्म फूलमालाको माग हुन्छ,’ उनले भने, ‘सुपा देउराली मन्दिरमा दर्शनार्थीले पनि फूल प्रयोग गर्छन् । तराईमा पनि निर्यात हुन्छ ।’ माला र फूलको माग बढ्दो रहेको उनले बताए । फोनबाट ग्राहकले फूल र मालाको माग गर्ने उनले बताए । 

बिहान बेलुका भाट फूल खेतीमा काम गर्छन् । दिउँसो स्कुलमा पढाउँछन् । परिवारका अरु सदस्य पनि फूल खेतीमा रमाइरहेका छन् । फूल खेतीबाटै आत्मनिर्भर बन्ने लक्ष्य लिइएको उनले बताए । ‘स्थानीयसहित विभिन्न थरीका फूल उत्पादन भएको छ,’ उनले भने, ‘माग धेरै छ । अझै फूल खेती विस्तार गर्छु ।’

यातायातको सहजै सुविधा भएकाले तराई र टाढाका गाउँबाट समेत मोटरसाइकल, गाडीमा फूलमाला किन्न घरमै आउने गर्छन् । गाउँलेले तिहारका लागि दुई/चारवटा फूलका बोट रोपे पनि अन्नबाली खेती हुने बारीमा भाटले व्यावसायिक फूल खेती गर्नु नौलो भएको वडाध्यक्ष दुर्गा बीसीले बताए ।

अब परम्परागत खेती प्रणालीभन्दा यस्तै व्यावसायिक खेतीले कृषकलाई स्वरोजगार बनाउने भएकाले गाउँका अन्य कृषकलाई फूल खेतीतर्फ आकर्षित गरिएको उनले बताए ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully