एकीकृत बस्ती ५ वर्षदेखि प्रयोगविहीन

घरहरू सुविधायुक्त भए पनि साँघुराे र करेसाबारी समेत नभएकाे बस्तीमा खेतीकिसानी गर्ने ग्रामीण भेगका परिवार बस्न नसक्ने बताइरहेका छन् ।

आश्विन ३०, २०८२

सन्तोष महतारा

Integrated settlement unused for 5 years

What you should know

गुल्मी — भूकम्प र सडकबाट विस्थापित परिवारका लागि बनाइएका एकीकृत बस्तीमा बसोबास नहुँदा झाडीले ढाकेर घरहरू जीर्ण बन्दै गएका छन् ।

मदाने गाउँपालिका–३ सिर्सेनीका चार ठाउँमा निर्माण गरिएका ४८ मध्ये १३ वटा घरमा मात्रै बसोबास छ । एक तले जस्ताले छाएको घरमा विद्युत्, खानेपानी र शौचालयको सुविधा भए पनि साँघुरो बस्तीका कारण ३५ घरमा बसोबास नहुँदा थोत्रा भइरहेका छन् । बसोबास नहुँदा बस्ती झाडीले घेरिन थालेको छ ।

भूकम्प र सडक निर्माणबाट विस्थापितका लागि बनाइएको बस्तीमा पीडितहरू आफ्नो खेतबारीभन्दा टाढा भएको समस्या भन्दै उक्त बस्तीमा आएका छैनन् । उनीहरू अहिले पनि जोखिमयुक्त घरमै बसिरहेका छन् ।

बस्तीमा सबै घर एकैठाउँमा हुँदा पशुचौपाया र बालबालिकाबीच झगडा हुने समस्याले एकीकृत बस्तीमा नबसेको पीडित माया विश्वकर्माले बताइन् । ‘गाउँमा बसेपछि कुखुरा, बाख्रा र बस्तुभाउ पाल्नै पर्‍यो,’ उनले भनिन्, ‘रोजगारीबिना जोडिएका घरमात्र दिएर सबै एकै ठाउँमा बस्न सकिँदैन ।’ निर्माण गरिएको घरमा पनि एउटा सानो खाट र सामान्य दराज राख्नेबाहेक अरू ठाउँ छैन ।

अर्की पीडित निर्मला सुनारले छुट्टाछुट्टै घर बनाएर कम्तीमा करेसाबारी हुने जग्गा भएमा राहत हुने बताइन् । ‘साँघुरा घर मात्रै छन्, जग्गाजमिन टाढा छ,’ उनले भनिन्, ‘सहरमा जस्तो गरेर गाउँमा बसाइँ सम्भव हुँदैन ।’ यस्तै सस्या देखाएर पुरानै जीर्ण घरमा बस्न बाध्य परिवारको संख्या ३५ छ । उनीहरूले घरहरू सुविधायुक्त भए पनि साँघुराे र करेसाबारी समेत नभएकाे बस्तीमा खेतीकिसानी गर्ने ग्रामीण भेगका परिवार बस्न नसक्ने बताइरहेका छन् ।

बस्तीमा गएर बसेका १३ परिवारले आफूहरू बसे पनि समस्या देखाइरहेका छन् । बस्तीमा जान बाँकी रहेका परिवार त्यहाँ घरबाहेक अन्य सुविधा नभएको बताउँछन् । सागपात लगाउने ठाउँ, वस्तुभाउ राख्ने ठाउँ, छुट्टाछुट्टै धाराहरू बनाउनुपर्ने र रोजगारीसमेत हुनुपर्ने उनीहरूको माग छ ।

सालझण्डी–सन्धीर्खक–ढोरपाटन सडक निर्माण गर्ने क्रममा बिस्थापित तथा जोखिममा परेका परिवारका लागि एकीकृत बस्ती विकास योजना मार्फत बस्ती निर्माण गरिएको थियो । मदाने गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा जग्गा प्राप्त गरेर अर्को वर्ष पालिकामार्फत बाटाकाचौर र खन्यूखर्क साथै काफलपाटामा पुनःनिर्माण प्राधिकरणमार्फत तीन करोड रूपैयाँ लागतमा समग्रमा एकीकृत बस्ती निर्माण भएको मदाने गाउँपालिकाका सूचना अधिकारी सुरेश पोखेरेलले जानकारी दिए । बाटाचौरमा १८ घरमध्ये दुई, काफलपाटामा १० घरमध्ये दुई, खन्यूखर्कमा १८ घरमध्ये सात र सिममा दुई मध्ये दुई घरमा लक्षित घरपरिवार बसेका छन् । अन्य घरहरू खाली छन् ।

वडाध्यक्ष चेतबहादुर सेनले लक्षित गरेर बनाइएका पीडित घरपरिवारले आफ्नो पुरानो बस्ती छाड्न नमानेका कारण एकीकृत बस्ती खाली अवस्थामा रहेको बताए । ‘आफ्नै समुदाय प्यारो लाग्ने भएर जोखिमै भए पनि बसिरहेका छन्,’ उनले भने, ‘पटकपटक आग्रह गरिए पनि पीडित परिवार बस्तीमा आएनन् ।’ उनले हाल एकीकृत बस्तीमा जंगली जनावर आएर बस्ने खालको भएकोमा निराशा व्यक्त गरे । बिस्थापित परिवारको घरधनीको नाममा भएकोले अन्यत्र प्रयोग पनि नहुने र उनीहरूले पनि प्रयोग नगर्ने अवस्था रहेको उनले बताए ।

मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले पीडित परिवार बस्तीमा आएर नबसेपछि एकीकृत बस्ती सफल बन्न नसकेको बताइन् । ‘पालिकाले आग्रह गरेकै छ तर लाभग्राही परिवार पुरानै घरमा छन्,’ उनले भनिन्, ‘कुनै विपद् पर्दा समस्या हुँदा प्रयोग होला, होइन भने एकीकृत बस्तीमा हाम्रोमा सफल भएन ।’ उनले समस्या आइपर्दा कानुन नै निर्माण गरेर भए पनि अरु पनि बस्न मिल्ने बनाउने प्रयास गर्ने बताएकी छिन् ।

सन्तोष

Link copied successfully