एकै प्रकृतिका पर्यटकीय संरचना निर्माणमा पालिकाको होडबाजी

छत्रकोटमा जिपलाइन र मदानेमा जिपलाइन तथा स्काई साइक्लिङ तयार 

आश्विन २६, २०८२

सन्तोष महतारा

The municipality's competition in the construction of tourist structures of the same nature

What you should know

गुल्मी — गत वर्षको पुसदेखि छत्रकोटमा साहसिक खेल जिपलाइन सञ्चालनमा छ । आन्तरिक तथा बाह्य धार्मिक पर्यटकीय गन्तव्य बनाउने भन्दै छत्रकोट गाउँपालिकाले वडा नम्बर ३ मा छत्रकोट देवालय मन्दिरदेखि देवी भगवती मन्दिरसम्म जिपलाइन निर्माण गरेको हो । 

१ हजार ८० मिटर लम्बाइ र ६७ मिटर उचाइ रहेको जिपलाइन जम्मा ८६ लाख ७३ हजार रुपैयाँ लागतमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको थियो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको बजेटमा साझेदारीमा उक्त पर्यटकीय संरचना तयार भएका हुन् । जिपलाइन खेलका लागि प्रतिव्यक्ति ४ सय, विद्यार्थीहरूका लागि ३ सय, पालिकाबाहिरका नागरिकका लागि ५ सय र विदेशी नागरिकका लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

मदाने गाउँपालिका-७ मा भने रोल्मा तिखेचुलीमा केही साताअघि मात्रै जिपलाइन र स्काई साइक्लिङ उद्‍घाटन भएका छन् । रोल्मा तिखेचुली पर्यटन पूर्वाधारअन्तर्गत पर्यटन प्रवर्द्धनका लागि जम्मा ७४ लाख २५ हजार रुपैयाँ लागतमा अर्घा कन्स्ट्रक्सन प्रालिले निर्माण सम्पन्न गरेको थियो । 

जिपलाइन ३ सय २० मिटर र स्काई साइक्लिङ ९० मिटर लम्बाइका रहेका छन् । दुवै डबल रहेका छन् । एकै पटक दुई जना जिपलाइन र दुई जना स्काई साइक्लिङ गर्न सकिन्छ । यसको व्यवस्थापनसहित सञ्चालनका लागि गाउँपालिकाले तयारी गरिरहेको छ । 

रेसुंगा क्षेत्रमा जिपलाइन र स्काई साइक्लिङका लागि नगरपालिकाले खनाल एन्फ्रा प्रालिलाई १ करोड २५ लाख लागतमा जीपलाइन र स्काई साइक्लिङ बनाउन जिम्मा दिएको छ । जिपलाइन ४ सय २५ मिटर लामो र स्काई साइक्लिङ १ सय ८० मिटर लामो बन्ने रेसुङ्गा नगरपालिका सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिए । यी पर्यटकीय संरचना आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न हुनेछन् ।

पालिकाले निर्माण गरेका यी पर्यटकीय संरचनामा चाडपर्वको समयमा चहलपहल देखिए पनि अन्य समयमा भने सुनसान रहेका छन् । यी संरचनाबाट पालिकाले आन्तारिक आम्दानीमा वृद्धि गर्नुको सट्टा जेनतेन सञ्चालनमा समेत कठिनाइ देखिन्छ । हालसम्म पालिकाकै स्वामित्वमा रहेका यी संरचना निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने भनिए पनि हालसम्म निजी क्षेत्र स्वत:स्फुर्त तयार भइरहेको अवस्था देखिएको छैन । 

छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जिपलाइन सञ्चालन गर्नुपूर्व गरिएको पत्रकार सम्मेलनमार्फत सबै पालिकाले एकैखाले पर्यटकीय पूर्वाधार तयार गर्न नहुने बताएका थिए । ‘एकैखाले पर्यटकीय पूर्वाधार नबनाउन मैले व्यक्तिगत माध्यम र यिनै मिडियामार्फत भन्छु,’ उनले भने, ‘फरक-फरक प्रविधि भित्र्याएर भिन्न र पृथक् खाले संरचना तयार हुनुपर्दछ ।’ यद्यपि एकीकृत योजना र बहस पैरवी नहुँदा एकै प्रकृतिका पर्यटकीय संरचना तयार भइरहेका छन् । 

पर्यटन व्यवसायी सुदर्शन खनालले पालिकाले आफ्नो पहिचानलाई बिर्सिएर एकै प्रकृतिका पर्यटकीय संरचनामा पालिकाको होडबाजीले गुल्मीको पर्यटनमा विकास नहुने बताउँछन् । ‘सबै पालिका जिपलाइन मात्रैको पछि लाग्दा हाम्रा विशेषता छायाँमा परेका छन्,’ उनले भने, ‘आफ्नो पहिचानलाई साथमा लिएर पर्यटकीय संरचना तयार हुनुपर्नेछ ।’ उनले रेसुंगामा साहसिक खेल सान्दर्भिक भए पनि अन्य क्षेत्रमा भइरहेको होडबाजी उपलब्धि बिहीन हुने बताए । उनले पालिका सुहाउँदो पर्यटकीय विकासमा लाग्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले विकासमा प्रतिस्पर्धा भएको राम्रो भए पनि दुर्गामी असरबारे ख्याल गर्नुपर्ने उनले बताए । ‘साहसिक खेलका संरचना निर्माणमा प्रतिस्पर्धा हुनु त राम्रो होइन,’ उनले भने, ‘एकीकृत योजना नहुँदा अलपत्र पर्ने सम्भावना बढी देखिन्छ ।’ दीर्घकालीन सञ्चालनलाई ख्याल गरेर मात्रै पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए । 

सन्तोष

Link copied successfully