मूल्य वृद्धिको माग गर्दै घोराहीका मासु व्यवसायीले पसल बन्द गरे

व्यवसायीले खसीको मासुको मूल्य प्रति किलो १ सय रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेकोमा प्रशासनले रोक लगाएपछि व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

आश्विन २५, २०८२

दुर्गालाल केसी

Meat traders in Ghorahi closed their shops demanding price increase

दाङ — मूल्य वृद्धिको माग गर्दै घोराहीका मासु व्यवसायीले मासु पसलहरू बन्द गरेका छन् । खसी मासु व्यवसायी समिति घोराहीको बुधबार बसेको बैठकले शनिवारदेखि लागू हुने गरी मासुमा प्रति किलो १ सय रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय दाङले उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि शनिवारदेखि नै व्यवसायीहरू आन्दोलित भएको समितिका अध्यक्ष असलाम कुरेशीले बताए ।

जिल्लाका अन्य बजारहरूमा खसीको मासु प्रतिकिलो एक हजार रुपैयाँ पुगेको र घोराहीमा पनि सोहीअनुसार वृद्धि गरेकोमा प्रशासनले रोकेको उनले बताए ।

अन्य बजारमा मूल्य पाउने भएपछि किसानहरूले घोराही भन्दा अन्य बजारमा नै खसी बिक्री गरिरहेको र जसका कारण घोराहीमा खसी नै अभाव भइरहेको उनले गुनासो गरे । मूल्यवृद्धिको निर्णय लागू नहुँदासम्म मासु पसल बन्द गरिने उनले बताए।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully