मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले विपन्न समुदायको सहयोगका लागि माटाका कपमा चिया बिक्री कार्यक्रम ल्याइएको जानकारी दिए ।
What you should know
भैरहवा — एक समय मुलुकका ग्रामीण क्षेत्रमा कुमाल समुदायले तयार गरेका माटाका भाँडाको माग थियो । पानी पिउने सुराहीदेखि मकै भुट्ने हाँडीसम्म उनीहरूले बनाउँथे । चिसो पानीका लागि माटाको गाग्रीदेखि पैसा जम्मा गर्ने खुत्रुके (भुड्की) अहिले पनि लोकप्रिय छन् । परम्परागत सीप उपयोग गरेर जीविकोपार्जन गर्दै आएको कुमाल समुदाय अहिले संकटमा परेको छ ।
बजारमा माटाको सट्टा फलाम र प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढेपछि उनीहरू समस्यामा परेका हुन् । कुमाल समुदायले निर्माण गरेका माटाका मूर्ति अहिले पनि विदेशीले खरिद गर्छन् । उनीहरूले तयार गरेका माटाका कप (बट्टा) को माग अहिले बढिरहेको छ । माटाको कपमा चिया पिउने प्रचलन अहिले सहरबजारमा मट्का चिया भनेर प्रख्यात छ । यस्तै आकर्षण देखेर रूपन्देहीको मर्चवारी गाउँपालिकाले कुमाल समुदायको सीप प्रवर्द्धन योजना तयार गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठीका अनुसार पालिकामा रहेका करिब दुई दर्जन कुमाल समुदायको जीविकोपार्जनका लागि उनीहरूले तयार गरेका माटाका कपको व्यावसायिक प्रवर्द्धन गर्न लागिएको छ । ‘गाउँका चिया पसलमा प्लालिस्टिकका कपमा चिया बिक्री भइरहेको छ,’ उनले भने, ‘अब सबै चिया पसलेलाई माटाका कपमा चिया बेच्न प्रोत्साहित गर्न लागेका छौं ।’ उनका अनुसार माटाको कपको मूल्य पनि दुई रुपैयाँ प्रतिकप रहेको छ । प्लास्टिकको कप खरिद गर्दा पनि त्यति नै मूल्य तिर्नुपर्छ । ‘माटाका कपको प्रयोगले वातावरण संरक्षणमा पनि सहयोग पुग्छ,’ उनले भने, ‘आफ्नै गाउँठाउँका कुमाल समुदायको गुजारा पनि चल्छ ।’
कुमाल समुदायले माटाका सामग्री बनाउन प्रयोग गर्दै आएको चक्रलाई पनि आधुनिक तुल्याउन गाउँपालिकाले बजेट विनियोजन गरेको त्रिपाठीले बताए । अहिले उपयोगमा रहेको परम्परागत चक्रलाई सुधार गरेर मोटर जडान गरेपछि स्वचालित बन्ने उनले सुनाए । यस्ता स्वचालित चक्र चलाउन कुमाल समुदायलाई बिजुली आपूर्ति गरिने र महसुल छुट गरिनेछ ।
मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले पनि विपन्न समुदायको सहयोगका लागि माटाका कपमा चिया बिक्री कार्यक्रम ल्याइएको जानकारी दिए । यस्ता कप बिक्रीका लागि सुरुमा पालिकाभित्रका सबै चिया पसलेको भेला आयोजना गरिने उनले बताए । ‘सबै चिया पसलेलाई भेला गराएर माटाका कपको फाइदा बुझाएपछि अनिवार्य प्रयोगका लागि अनुरोध गरिनेछ,’ उनले भने, ‘माटाका कप माटोमै बिलाउँछन्, प्लास्टिकका कप नकुहिने भएकाले माटोलाई हानि गर्छ ।’
उनका अनुसार पहिले चिया पसलमा स्टिल र काँचका गिलासमा चिया बिक्री गरिन्थ्यो । केही वर्षयता फ्याँक्न मिल्ने भएकाले प्लास्टिकका कप प्रयोग भइरहेका छन् । यसले पसल आसपास फोहोर देखिनुका साथै प्रदूषण बढेको छ । अर्कोतर्फ आफूले तयार गरेका माटाका कप बिक्री हुन थालेपछि कुमाल समुदाय पनि उत्साहित हुने अध्यक्ष बरईले बताए । ‘यस्तो कार्यक्रमले परम्परागत सीप बचाउन पनि भूमिका खेल्नेछ,’ उनले भने, ‘कुमाल समुदायलाई घरखर्च चलाउन समस्या हुने छैन ।’
