करवा चौथ पर्वका दिन घरमा नयाँ चामलको पिठोबाट बनाइएको परिकार र मिठाई लगायतका कुरा खाने चलन छ । यो पर्व तराईका सीमावर्ती भारतीय बजारहरूमा अझ धुमधामका साथ मनाइन्छ ।
कपिलवस्तु — पतिको दीर्घायुको कामना गर्दै कपिलवस्तुका साथै तराईका मधेशी समुदायका महिलाले करवा चौथ पर्व मनाएका छन् । शुक्रबार दिनभरि महिलाले पानीसमेत नपिई निराहार ब्रत बसेका थिए । साँझ उनीहरू भगवान्सँग श्रीमान्को लामो आयु तथा सुख र समृद्धिको कामना गरे ।
कार्तिक कृष्णपक्ष चतुर्थीका दिन हरेक वर्ष करवा चौथ तराईका महिलाले धुमधामसँग धार्मिक विधिपूर्वक मनाउँछन् । महिलाहरू बिहानदेखि शुक्रबार राति चन्द्रमा नदेखिउन्जेलसम्म ब्रत बसेका थिए । राति घर, टोलमा चन्द्रमाको विशेष पूजाअर्चना गर्छन् ।
चन्द्रमाका अघि चाल्नोले श्रीमान्को अनुहार हेरेपछि मात्र दिनभरको ब्रत तोडेर खाना खाने गर्दछन् । शुक्रबार राती ८ बजेतिर चन्द्रमाको पूजाआजा गरी चाल्नोले श्रीमान्को अनुहार हेरेर विशेष परिकार खाएर पर्व मनाएको कृष्णनगर नगरपालिका–९, बहादुरगन्जकी सुमन गुप्ताले बताइन् ।
चन्द्रमाको पूजापछि श्रीमान्ले पानी खुवाएर महिलाको ब्रत तोड्ने परम्परा छ । पर्वका दिन घरमा नयाँ चामलको पिठोबाट बनाइएको परिकार र मिठाई लगायतका कुरा खाने चलन छ । यो पर्व तराईका सीमावर्ती भारतीय बजारहरूमा अझ धुमधामका साथ मनाइन्छ ।
