छल्दी–रातडाँडा–इन्द्रेगौंडा र रातडाँडा–अमराई–दर्लिङ्ग सडकका निर्माण कार्य समयमै पूरा नहुँदा स्थानीय बासिन्दा लामो समयदेखि सहज आवागमनको प्रतीक्षामा छन्।
What you should know
गुल्मी — पर्यटकीय स्थल गुल्मीको रेसुंगा र बागलुङको ढोरपाटन जोड्ने हिसाबले महत्त्वपूर्ण मानिएको गुल्मीको खण्ड बिजोग अवस्थामा छ। जिल्लाको छल्दी–रातडाँडा–इन्द्रेगौंडा सडक साँघुरो, कच्ची र खाल्डै–खाल्डाले हिउँद र बर्खा दुवै समयमा सास्ती दिइरहेको छ।
पछिल्लो समय निर्माणाधीन यहाँ ३ किलोमिटर २ सय ७० मिटर सडक कालोपत्रे गर्न ४ किलोमिटरकै दूरीमा तीन खण्डमा तीन वटा ठेक्का लगाइएको छ। सडक डिभिजन कार्यालय पाल्पामार्फत यहाँ छल्दी–रातडाँडा–इन्द्रेगौंडा सडकमा पहिलो खण्ड, त्यही नाममा दोस्रो खण्ड र रातडाँडा–अमराई–दर्लिङ्ग सडकको नाममा तेस्रो खण्ड रहेको छ। जबकि पहिलो र दोस्रो खण्ड जोडिन्छन् भने तेस्रो खण्ड बीचमा झन्डै १ किलोमिटर छाडेर सुरु भएको छ।
पहिलो खण्डमा २ किलोमिटर ८ सय मिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का गरिएको छ। जुन २०८२ असार २० गते सक्ने गरी २०८२ वैशाख १६ गते सम्झौता भएको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दीपक विकले बताए। थप ४ महिना म्याद थपिएको यस खण्ड ३ करोड ११ लाख रुपैयाँमा ॐ नमः शिवाय कन्स्ट्रक्सन प्रालि दाङले निर्माणको जिम्मा पाएको थियो।
कार्यालयका इन्जिनियर विकका अनुसार यस खण्डमा हालसम्म २० प्रतिशत भौतिक प्रगति र सोही बमोजिम १८ प्रतिशत वित्तीय प्रगति भएको छ। यस खण्डको काम अहिले ठप्प रहेको छ। ॐ नमः सिवाय कन्स्ट्रक्सन प्रा.लिका सञ्चालक प्रवीण भण्डारीले मौसमका कारण काम रोकिएको बताए।
‘मौसम सुधार भएपछि दशैंपछि आएर काम गर्ने हो,’ उनले भने, ‘काम सुरु भएपछि तीन महिनामा काम सकिन्छ।’
त्यसपछि दोस्रो खण्डमा भने ४ सय मिटर सडक कालोपत्रेको काम छ। २०८१ कार्तिक ८ गते ७२ लाखमा नव उत्कृष्ट कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग २०८२ जेठ ३० मा सक्ने गरी सम्झौता भएको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दीपक विकले बताए। हाल निर्माण व्यवसायीले हर्जाना तिरेर काम गरिरहेका छन्। यस खण्डको काम सकिनै लागेको छ।
त्यसपछि झन्डै १ किलोमिटर दूरी छाडेर अर्को ठेक्का रहेको छ। यस सडकको नाम भने रातडाँडा–अमराई–दर्लिङ्ग सडक खण्ड हो। यस खण्डमा ३ सय ७० मिटर सडक कालोपत्रे गर्न ७१ लाखमा २०८१ कार्तिक ८ गते नव उत्कृष्ट कन्स्ट्रक्सन एन्ड सप्लायरसँग नै २०८२ जेठ ३० मा सक्ने गरी सम्झौता भएको थियो। यस खण्डको ९१ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दीपक विकले बताए। यी दुई खण्डको काम निर्माण व्यवसायी चुरा भण्डारीले गरेका छन्।
यसपछि रातडाँडा–अमराई–दर्लिङ्ग सडकखण्डको नाममा पुनः बीचमा छाडेर पेंगादेखि काम सुरु भएको छ। २०८२ वैशाख २१ मा शुभलक्ष्मी/सूर्योदय कन्स्ट्रक्सन/सीमा जेभीले २०८२ असार २० मा सक्ने गरी ३ करोड ३९ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको इन्जिनियर विकले बताए। यस खण्डमा २ किलोमिटर ८ सय मिटर सडक कालोपत्रे गर्ने भनिए पनि हाल ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। काम सक्नका लागि ४ महिना म्याद थपिएको छ। हाल यो खण्डको काम सुस्त छ। सूर्योदय कन्स्ट्रक्सनका सञ्चालक अशोक रायमाझीले निर्माण गर्ने समयावधि कम हुँदा काम नसकिएको बताए।
‘बर्खा पनि भयो, समय पनि कम भयो,’ उनले भने, ‘अब तत्काल काम सुरु हुन्छ, कालोपत्रे छिट्टै सकिन्छ।’
सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख राम पुकार जयसवालले सडक खण्ड–खण्डमा ठेक्का लगाइए पनि समयमा काम गर्न समस्या नहुने बताए।
‘बजेट छुट्टाछुट्टै सुनिश्चित हुँदा खण्ड–खण्ड बनेको हो,’ उनले भने, ‘काम छिटो सक्नका लागि ताकेता गरिरहेका छौं।’ उनले केही खण्डको अन्तिम चरणमा पुगेको बताए।
गुल्मीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले छल्दी–रातडाँडा–इन्द्रेगौंडा सडक सम्भावना बोकेको सडक भएकोले यसलाई फराकिलो बनाएर लैजानुपर्ने बताए।
‘यो सडक साँघुरो पनि छ, अझ निर्माणाधीन त अलपत्र हुनै भएन,’ उनले भने, ‘हामीले कार्यालय प्रमुख र निर्माण व्यवसायी राखेर छिट्टै कामलाई तीव्रता दिन लगाउँछौँ।’ उनले आकाशे पानी केही रोकिएपछि तत्काल तीव्र गतिमा काम अगाडि बढाउने बताए।
