लुम्बिनी प्रदेशबाट फरार ६ सय ९० कैदी अझै सम्पर्कमा आएनन्

फरार १ हजार ५ सय ६९ मध्ये ८ सय ७९ नियन्त्रणमा, कपिलवस्तुका मात्र १ सय ४१ फरार ।

आश्विन २५, २०८२

घनश्याम गौतम

690 prisoners who escaped from Lumbini province have not been contacted yet

बुटवल — जेन–जी प्रदर्शनका क्रममा भदौ २४ गते लुम्बिनी प्रदेशका विभिन्न कारागारबाट फरार भएका ६ सय ९० कैदी अझै प्रहरीको सम्पर्कमा आएका छैनन्। फरार १ हजार ५ सय ६९ मध्ये ८ सय ७९ कैदी मात्र प्रहरीको नियन्त्रणमा आएका छन्। प्रहरीले फरार कैदीहरूको खोजी जारी राखेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा एसएसपी शारदाप्रसाद चौधरीका अनुसार एक महिनाको अवधिमा विशेष अभियान सञ्चालन गरेर ८ सय ७९ कैदीलाई नियन्त्रणमा लिएको हो। ‘अन्यको खोजी अभियान जारी छ,’ उनले भने, ‘हामीले सकेसम्म फरार कैदीलाई सम्पर्कमा आउन आग्रह गरिरहेका छौँ, नआउनेहरू पनि ढिलो–चाँडो नियन्त्रणमा आउँछन्।’

प्रहरीले लुम्बिनी प्रदेशका १२ जिल्लासहित सम्भावित सबै क्षेत्रमा निगरानी गरिरहेको उनले बताए। भदौ २४ को प्रदर्शनका क्रममा नवलपरासी, कपिलवस्तु, दाङ र बाँके जिल्ला कारागारबाट कैदीबन्दीहरू फरार भएका थिए। तीमध्ये कपिलवस्तु कारागारबाट भागेका ४ सय ३० कैदीबन्दीमध्ये अझै १ सय ४१ फरार नै छन्। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले सार्वजनिक सूचना आह्वान गर्दा पनि सम्पर्कमा नआएका १ सय ४१ कैदीबन्दीको खोजी भइरहेको बताए।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully