भदौ २४ गते घोराही उपमहानगरपालिका-१०, स्थित सिद्धरत्ननाथ क्याम्पस नारायणपुर केन्द्रका १ सय ४३ उत्तरपुस्तिका जलेका थिए ।
दाङ — भदौ २४ को प्रदर्शनका क्रममा उत्तरपुस्तिका जलेका स्नातक तह दोस्रो वर्षका विभिन्न विषयमा पुन: परीक्षा हुने भएको छ ।
भदौ २४ गते घोराही उपमहानगरपालिका-१०, स्थित सिद्धरत्ननाथ क्याम्पस नारायणपुर केन्द्रका १ सय ४३ उत्तरपुस्तिका जलेका थिए । भदौ २३ गते लिइएको बीबीएस दोस्रो वर्षको बिजनेस कम्युनिकेसन विषयको उत्तरपुस्तिका जलेको क्याम्पस प्रमुख दीपक लामिछानेले बताए ।
परीक्षा सकेर सुरक्षाका लागि इलाका प्रहरी कार्यालय नारायणपुरमा राखेको बेला उत्तरपुस्तिका जलेको उनले बताए । त्यतिबेला स्नातक तहको आंशिक तथा मौका परीक्षा चलेको थियो ।
उक्त केन्द्रमा मार्क, दाङ भ्याली, पद्मोदय, दिपशीखा र सिद्धरत्ननाथ क्याम्पसका परीक्षार्थी सहभागी थिए । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सूचना जारी गरी उक्त केन्द्रको परीक्षा रद्द गरेको जानकारी दिएको छ । पुन: परीक्षाको मिति पछि तोकिने कार्यालयले जानकारी दिएको छ ।
सिद्धरत्ननाथ क्याम्पस नारायणपुर केन्द्रका साथै झापाको कनकाई आदर्श क्याम्पस र रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर केन्द्रका भाद्र २३ र २४ गतेका परीक्षा पनि रद्द गरी पुन: सञ्चालन हुने भएका छन् । ती केन्द्रका उत्तरपुस्तिका पनि प्रहरी कार्यालयमा जलेका थिए ।
