दसैँ अवधिभर लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा भएका ५८७ भन्दा बढी घाइते र २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
What you should know
बुटवल — लुम्बिनी प्रदेशमा दसैंको अवधिमा ५३६ सवारी दुर्घटनामा परेर २२ जनाको मृत्यु भएको छ । असोज ६ गते घटस्थापनादेखि असोज १९ गते पूर्णिमासम्मको १४ दिनको अवधिमा लुम्बिनी प्रदेशका १२ जिल्लामा यी दुर्घटनाहरु भएका हुन् ।
नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लामा भएका दुर्घटनामा १४८ जना गम्भीर घाइते र ५८७ जना सामान्य घाइते भएका छन् ।
कार्यालयका प्रहरी नायव उपरिक्षक दीपेश बस्यालका अनुसार, मृत्यु हुनेमा १२ पुरुष, ७ महिला र ३ जना बालबालिका छन् । गम्भीर घाइतेमा ९६ पुरुष, ३२ महिला र १९ बालबालिका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् ।
‘दुर्घटनामा सबैभन्दा धेरै रूपन्देहीमा भएका छन्,’ उनले भने, ‘रूपन्देहीमा मात्र १३५ सवारी दुर्घटनामा ७ जनाको मृत्यु र १३९ घाइते भएका छन् । लुम्बिनी प्रदेशभर २२ जनाको ज्यान गएको छ ।’ उनले थपे कि पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा बढी दुर्घटना भएको छ ।
लुम्बिनी प्रदेशको पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा बढी दुर्घटना भएको उनले बताए ।
दसैँ अवधिभर लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सवारी दुर्घटना भएका छन् । सबै भन्दा कम रुकुम पूर्वमा एउटा मात्र सवारी दुर्घटना भएको छ । त्यसमा २ जना घाइते भएका छन् । रुपन्देहीमा १ सय ३५, बाँकेमा ९९, बर्दियामा ९३, नवलपरासी पश्चिम र दाङमा ५०/५०, कपिलवस्तुमा ४४, पाल्पामा २३, गुल्मीमा १९, प्युठानमा १३, अर्घाखाँचीमा १०, रोल्पामा ७ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनाबाट रुपन्देहीमा ७, बाँकेमा ४, कपिलवस्तुमा ३, बर्दियामा ३, पाल्पा र अर्घाखाँचीमा २/२ र दाङमा १ जनाको ज्यान गएको छ ।
