राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पश्चिम नवलपरासीद्वारा निर्माणाधीन लोक सांस्कृतिक संग्रहालय सहयोगार्थ महोत्सव आयोजना गरिएको हो ।
परासी — पश्चिम नवलपरासीको सुनवल-१३ बडेरा सुन्दरबस्तीमा तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पश्चिम नवलपरासीद्वारा निर्माणाधीन लोक सांस्कृतिक संग्रहालय सहयोगार्थ महोत्सव आयोजना गरिएको हो । महोत्सव उद्घाटन गर्दै पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले आधुनिकताको नाममा पश्चिमी संस्कृतिको अनुशरण भइरहेको उल्लेख गरे । उनले आफ्नै संस्कृति जोगाउन सबैको जिम्मेवारी हुने बताए । उनले परम्परागत संस्कृति र मूल्यमान्यता संरक्षणमा स्थानीय अग्रसर हुनुपर्नेमा जोड दिए ।
११ दिनसम्म चल्ने महोत्सवमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष श्यामकला भण्डारी बताइन् । मेला अवधिभर ५० लाख रुपैयाँबराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवस्थलमा विभिन्न जातजातिका संस्कृति झल्काउने घरहरू, स्थानीय कला, कृषि, व्यापार र उद्योगसँग सम्बन्धित सामग्रीका स्टलहरू छन् ।
