सराय नाचसँगै दसैंको बिदाइ

सराय नाचको सुरुवात अर्घा दरबारबाट भएको मानिन्छ । यहाँ मंगलबार पूर्णिमाको दिन भव्य सराय जात्रा गरेर दसैंलाई बिदाइ गरियो ।

आश्विन २१, २०८२

वीरेन्द्र केसी

Saying goodbye to Dasain with sarai dance

What you should know

अर्घाखाँची — धेरैलाई लाग्छ, मान्यजनको हातबाट टीका ग्रहण गरेपछि लगभग दसैँ सकिन्छ । तर, लुम्बिनी प्रदेशका पहाड र तराई सहित आठ जिल्लामा दशैंलाई अलि फरक शैलीमा मनाइन्छ । दशमीमा एकदिन मात्रै टीका लगाइन्छ । त्यसपछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म बेग्लै रौनक हुन्छ । दुर्गा भगवती र कालिका मन्दिरमा हतियार जुधाएर सराय नाचिन्छ ।

काठमाडौंमा व्यवसाय गर्ने अर्घाखाँची खिल्जी गाउँका प्रकाश बेल्वासे घरमा टीका ग्रहणपछि सबै भगवती मन्दिरमा पुगेर सराय नाच नाचेर दसैंलाई बिदाइ गरे । ‘सराय नाच हाम्रो महत्त्वपूर्ण संस्कृति हो,’ उनले भने, ‘यसको संरक्षण गर्न पाँच दिनसम्म पुग्न सक्ने सबै मन्दिरमा सराय नाचें । छुट्टै रमाइलो संस्कृति हो, सरायको संरक्षण गर्दै अझ भव्य बनाउनुपर्छ ।’ पछिल्ला वर्षहरुमा पढेलेखेका युवा सराय नाचमा बढी देखिन थालेका छन् । उनले सराय नाचको सामाजिक सञ्जालमा लाइभ र भिडियो राखेर थप प्रचारप्रसार पनि गरेका छन् । 

मंगलबार पूर्णिमाको दिन भव्य सराय जात्रा गरेर दसैंलाई बिदाइ गरियो । एकादशीदेखि पूर्णिमासम्म प्रायः गाउँ–गाउँमा रहेका दुर्गा भगवती र कालिका मन्दिरमा सराय नाचिन्छ । अर्घा र खाँची दरबार, मालारानी, राँगामारे, भण्डारथुम, वामरुक, ठाडा, मैदान लगायतका स्थानका महत्त्वपूर्ण मानिन्छ ।  

मन्दिरबााट दुर्गा भगवतीको मूर्तिसहित आलाम निकालेर सराय नाच्न सुरु गरिन्छ । जहाँ सयौं मान्छेको भीड हुन्छ । मन्दिरमा दर्शन र नाच्न आउने भक्तजनले नुहाउने र नयाँ पहिरन लगाउने चलन छ । मन्दिरमा राखिएका भाला, खुँडा, तरबार, ढाल लगायतका घरेलु हतियार निकालेर नाचिन्छ । निधारमा रातो टीका, जमरा, घाँटीमा धजा बाँधेर एउटा हातमा रुमाल र अर्को हातमा हतियार समाएर ‘वाख्खै हो, वाख्खै हो’ भन्दै हतियार एकआपसमा जुधाएर सराय नाचिन्छ ।

यसरी नचाउन बाजा, सनाई बजाइन्छ । बीच–बीचमा सराय भट्टाउने पनि हुन्छन् । यसरी कोतघरमा एकादशी देखि कोजाग्रत पूर्णिमासम्म सराय नाचेर दसैंलाई बिदाइ गर्ने चलन रहेको शितगंगा नगरपालिका–२ का सचिन बोहोराले बताए । ‘

दसैंका टीकामाभन्दा बढी सराय नाचमा रमाइलो हुन्छ, साथीभाइ, इष्टमित्रसँग भेटघाट हुन्छ,’ उनले भने, ‘सबै खुसीपूर्वक नाच्ने रमाइलो गर्ने, मन्दिरको दर्शनसँग प्रसाद ग्रहण गरिन्छ । सांस्कृति रमाइलोसँगै मेलामा स्थानीय उत्पादन र व्यापारिक स्टलहरुबाट आर्थिक कारोबार पनि उस्तै हुन्छ ।

प्रायः जुलबी, मिठाई, खानेकुराका परिकारका थुप्रै स्टल हुन्छन् । सराय नाच्दा तरबार, खुँडा सहितका हतियार नचाउँदा आफुसँग भएको साहसिक कला प्रदर्शन गर्न सकिन्छ भन्ने मान्यता पूर्ववडाध्यक्ष प्रितम थापाले बताए । ‘युवा उमेरका बढी हतियार नचाउँदा रमाउँछन्,’ उनले भने, ‘अलि बुढेसकाल उमेरका आलाम, टपरीमा फूलपाती जमरा बोक्छन् । पहिला पुरुष मात्रै नाच्थे, अहिले महिला पनि हतियार जुधाएर नाच्न थाल्दा अझै रोचक र रमाइलो बनेको छ ।’

मुलुकमा भएको दस वर्षे द्वन्द्वमा सराय नाच ओझेलमा परेपछि शान्ति प्रक्रियापछि यसको महत्व थप बढ्दै गएको उनले बताए । पछिल्लो सयम दसैंमा घरमा आएकाहरु धेरैजसो सराय नाचेरै कर्मथलो फर्किने थापाले बताए । यो रमाइलो मेला मात्रै नभएर सांस्कृतिक पर्यटन क्षेत्र पनि भएको उनले बताए । मन्दिरमा नाचिने सराय युटुब, फेसबुकलगायत सामाजिक सञ्जालमा धेरैले भिजिन गर्ने पनि उनले बताए । 

इतिहास अनुसार सराय नाचको सुरुवात अर्घा दरबारबाट सुरुवात भएको पाइन्छ । 

मध्यकालमा वर्तमान अर्घाखाँची जिल्लाको तत्कालीन अर्घा राज्यमा राजा जिल्ला राइले आफूले अर्घाराज्य जितेको उपलध्यक्षमा विजयोत्सव स्वरुप विजया दशमीको कोजाग्रत पूर्णिमाका दिनमा सरायँ नाच नचाई, दहीकेरा र बक्सिस बाँड्न थालेको संस्कृतविद् राजेन्द्रकुमार आचार्य बताउँछन् । अर्घाको टाकुराबाट प्रचलनमा आएको सराय नाच अन्यत्र विस्तार भएको उनले बताए । 

वि.स. १३८१ मा जिल्ला राई राजा भारतको दिल्लीबाट फौजसहित अर्घामा आएर बसे । साथमा उनले गीत गाउने गन्धर्व, पूजा गर्ने पुराोहित, लुगा सिलाउने परियार, हतियार बनाउने विश्वकर्मा र हतियार सहित फौज लिएर आएका थिए । त्यतिबेला अर्घामै गुरुङ राजा थिए । उनीसँग लडाई लडेर १७ मौजा कब्जा गरे । बडादसैँको पूर्णिमाको दिन विजयोत्सव स्वरुप सराय निकालेको इतिहास रहेको उनले बताए । 

राक्षससँगको लडाइमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरुप कोत र दुर्गा भगवती तथा कालिका मन्दिरमा हतियार नचाएर सराय नाच्न थालिएको हो । यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास गरिन्छ । अर्घा दरबार परिसरमा रहेको दुर्गा भगवती मन्दिरमा सराय नाच सुरुभएपछि खाँची दरबार र मालारानी मन्दिर हुँदै छिमेकी जिल्ला गुल्मी, प्यूठान, पाल्पा पुगेको छ । पहाडबाट तराइमा बसाइसराई गरेकाहरुले त्यहीँमा मन्दिर स्थापना गरी सराय नाच नाच्ने गरेका छन् । 

गुल्मीको धुर्कोट रजस्थल, अर्जे, चन्द्रकोट, पौदी अमराइकोट, नयाँ गाउँ, पिपलधारा, भुजुङ, प्यूठानको बिजुलीकोट, ओखरकोट, भित्रीकोट, विजुवारमा लगायतका स्थानमा सराय नाच हुन्छ । त्यस्तै,पाल्पाको माथागाडी, रैनादेवी, कुशुमखोला, सम्भादेवी मुझुङ्गकोट लगायतका कोतघरमा सराय नाच्ने गरिन्छ । 

पहाडी जिल्लाबाट तराइमा बसाइसराई गरेकाहरुले रूपन्देही,दाङ, कपिलवस्तु र नवलपरासीमा पनि सराय नाच्ने गर्छन् ।   

वीरेन्द्र

Link copied successfully