बुटवल गोरुसिंगे सडक : ७ हजार रुख काटिएपछि उराठ बन्यो राजमार्ग, हराए बरपिपल र चौपारी

पूर्वपश्चिम राजमार्गको बुटवल गोरुसिंगे ३१ किलोमिटर सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने ७ हजार १ सय ७५ रुख काटिएका हुन् ।

आश्विन १४, २०८२

घनश्याम गौतम

Butwal Gorusinge Road: Urath became a highway after 7 thousand trees were cut, Barpipal and Chowpari disappeared.

बुटवल — बुटवल–गोरुसिंगे सडक विस्तारको क्रममा सडक खण्डमा ७ हजार बढी रुख काटिएपछि राजमार्ग किनारका चौपारी भत्किएका छन् । बरपिपलको शीतल छायाँ हराएपछि सडक किनार उजाड बनेको छ । 

पूर्वपश्चिम राजमार्गको बुटवल गोरुसिंगे ३१ किलोमिटर सडक विस्तारका क्रममा सडक क्षेत्रमा पर्ने ७ हजार १ सय ७५ रुख काटिएका हुन् । त्यसको सट्टामा आयोजनाले सडक क्षेत्रमा पर्ने विभिन्न वन डिभिजन कार्यालय मार्फत् ७० हजार रुख रोप्ने तयारी पनि गरेको छ । 

रुख रोप्नका लागि आयोजनाले ४ करोड ७१ लाख रुपैयाँ वन विभागलाई भुक्तानी गरिसके पनि रोप्न सुरु भएको छैन । सडक विस्तारका क्रममा व्यक्तिगत लगानीमा तयार भएका सयौं चौपारी र ऐतिहासिक रुख पनि काटिएका छन् । त्यसले सडकमा सवारी साधन कुर्ने यात्रु सुस्ताउने छहारी र चौपारी छैनन् । बुटवल चन्द्रौटा सडक किनारमा वर र पीपलसँगै स्वामी, आँप, कदम, साल, सिमललगायत प्रजातिका ७ हजार रुख थिए । ती सबै काटिएका हुन् ।

रूपन्देहीको सैनामैना नगरपालिका–१ मुर्गियाकी ७६ वर्षीया कलावती गौतमले २०४१ सालमा कालिकाचोकमा वर र पीपलको रुख रोपेकी थिइन् । उनले १२ वर्षअघि त्यहीँ वर र पीपल रहेको स्थानमा ५० हजार रुपैयाँ खर्च गरेर चौपारी निर्माण गरिन् । वर र पीपलको रुखमा स्थानीयले प्रत्येक शनिबार पूजा पनि गर्थे । नजिकैको चौपारीमा सवारी कुर्नेहरु र अन्यले शीतलताको अवसर पाएका थिए । तर, अहिले न चौपारी छ, न वर पीपल ।

Butwal Gorusinge Road: Urath became a highway after 7 thousand trees were cut, Barpipal and Chowpari disappeared.

‘दुःखले हुर्काएर जोगाएको पीपल बाटो बनाउने भन्दै काटियो । आफैंले रोपेर हुर्काएको वर, पीपल काटिँदा मन कटक्क भयो,’ उनले भनिन्, ‘पछि रोप्छौं भन्थे तर, खै अहिलेसम्म छैनन् ।’ काटिएका रुख नरोप्दा सडक नै उराठिलो बनिरहेको उनको गुनासो छ । सडक ठूलो भएकाले अब सडक छेउमा वर, पीपल रोप्ने स्थान नै नरहेकोमा कलावती चिन्तित छिन् । ‘अब रुख रोप्ने ठाउँ पनि छैन्,’ उनले भनिन्, ‘कतै रोपे पनि ती रुख हुर्किएको हामीले देख्न पाइँदैन ।’

बुटवल–चन्द्रौटा सडक २ लेनबाट ४ लेनको बनिरहेको छ । त्यसका लागि बुटवलदेखि गोरुसिंगेसम्मका सडक किनारका १ हजार सय बढी वर र पीपलका रुख मात्र काटिएका छन् । बुटवल–चन्द्रौटा आयोजना कार्यालयका अनुसार सडक विस्तारका क्रममा बुटवल गोरुसिंगे सडक खण्डमा पर्ने रूपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका क्षेत्रमा २ हजार ६ सय १३, कञ्चन गाउँपालिका क्षेत्रमा १ हजार ३ सय २६ रुख काटिएका छन् । 

Butwal Gorusinge Road: Urath became a highway after 7 thousand trees were cut, Barpipal and Chowpari disappeared.

त्यस्तै कपिलवस्तुको चार नम्बर र गोरुसिंगे क्षेत्रमा ३ हजार २ सय ३६ रुख काटिएको आयोजना प्रमुख एंव इन्जिनियर कुशलता न्यौपानेले बताइन् । ‘सडक विस्तारको क्रममा ७ हजार १ सय ७५ रुख काटिएका छन्,’ उनले भनिन्, ‘काटिएका रुख रोप्नका लागि आयोजनाले वन विभागलाई ४ करोड ७१ लाख रुकम भुक्तानी दिएको छ ।’ काटिएको एउटा रुख बराबर नयाँ १० रुख रोप्ने गरी सम्झौता भएको र त्यसका लागि सडक डिभिजनलाई वन विभागले पत्राचार गर्ने उनले बताइन् । 

सडक डिभिजन कार्यालयहरु मार्फत् नयाँ रोपिने ७१ हजार रुखको ५ वर्षसम्मको संरक्षण खर्चसमेत आयोजनाले विभागलाई भुक्तान गरिसकेको आयोजनाले जनाएको छ । सडक विस्तारको क्रममा बुटवलदेखि भैरहवासम्म, भैरहवादेखि लुम्बिनीसम्म पनि यसैगरी सडक किनारमा रहेका वर, पीपल र आँप, स्वामीलगायतका रुख काटिएका थिए । तर, सडक निर्माण सकिएको ५ वर्षसम्म पनि सडक किनारमा पुराना प्रजातकिा रुख रोपिएको छैन ।

Butwal Gorusinge Road: Urath became a highway after 7 thousand trees were cut, Barpipal and Chowpari disappeared.

विकसित देशमा सडक निर्माण वा विस्तार गर्दा सडक किनारका रुखहरु संरक्षणको प्राथमिकतामा पर्ने गरे पनि नेपालमा त्यसतर्फ चासो नरहेको वातावरण अभियन्ता युवराज कँडेलले बताउँछन् । ‘अन्य देशहरूमा सडक निर्माण वा विस्तार गर्दा रुखहरू सडकको क्षेत्रभित्र परे पनि त्यसलाई स्थानान्तरण गर्ने र पछि छेउमै ल्याएर राख्ने अभ्यास पनि देखिन्छ,’ उनले भने, ‘तर, हाम्रोमा सडक विस्तार गर्दा पहिलो प्रहार नै रुखमा गरिन्छ । संरक्षणमा त कर्म ध्यान देखिन्छ ।’ राजमार्ग र सहरमा मात्र नभएर सडक निर्माणमा नाममा ग्रामीण क्षेत्रमा रहेका वर, पीपल र चौपारी हटाएर सडक निर्माण गर्ने गरिएको उनले बताए । 

बुटवल नारायणघाट सडक विस्तारका क्रममा झण्डै १ लाख रुख काटिएको थियो । ती रुखको सट्टामा वन विभागले आयोजनाकै आर्थिक सहयोगमा रुख रोप्न सुरु गरे पनि बुटवल भैरहवा, बुटवल गोरुसिंगे सडकमा अहिले विरुवा रोप्ने काम भएको छैन ।

बुटवल नारायणघाट सडक खण्डमा विस्तारको क्रममा क्षति भएका रुखहरु कपिलवस्तुका विभिन्न जंगल क्षेत्रमा नयाँ विरुवा रोप्ने काम अन्तिम चरणमा रहेको डिभिजन वन कार्यालय कपिलवस्तुका अधिकृत मदन ढुंगानाले बताए । ‘कपिलवस्तुको वाणगंगा नगरपालिका–१० का पटना, कोतरिया र मायादेवी गाउँपालिकाका केही साझेदारी वनमा नयाँ विरुवा रोप्ने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘कपिलवस्तुमा मात्र ५७ हेक्टर क्षेत्रफलमा बुटवल नारायणघाट सडक खण्डमा काटिएका रुखका लागि नयाँ बिरुवा रोपिएको छ ।’ 

बुटवल गोरुसिंगे सडक विस्तारको काम भर्खर सुरु भएकाले त्यसको नयाँ विरुवा रोप्ने काम केही समयपछि मात्र सुरु हुने उनले बताए । डिभिजन वन कार्यालय रूपन्देहीका सिनियर डिभिजनल वन अधिकृत प्रविण बिडारीले रूपन्देहीमा नयाँ बिरुवा रोप्नका लागि प्रयास भइरहे पनि जग्गा अभावले काम सुरु हुन नसकेको बताए । 

‘बुटवल नारायणघाट खण्ड, बुटवल भैरहवा खण्ड र भैरहवा लुम्बिनी खण्डमा काटिएका रुखको सट्टा नयाँ बिरुवा रोप्ने कामका लागि प्रयाप्त जग्गा उपलब्ध हुन सकेको छैन,’ उनले भने, ‘बुटवल नारायणघाट सडक आयोजनाले कम्तीमा ५० हेक्टर क्षेत्रफल जग्गा माग गरिरहेको छ । तर, जग्गा नै उपलब्ध हुन सकेको छैन ।’

बुटवल गोरुसिंगे सडक विस्तारका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवाले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । फिल्डमा काम भने आशिष निर्माण सेवाले गरिरहेको छ । सम्झौताको तीन वर्षभित्रै काम सक्ने निर्माण व्यवसायी विजय गौलीले बताए ।

२०८१ असारमा भएको ठेक्का सम्झौता ४ कात्तिकबाट लागु भएको थियो । निर्माण कम्पनीले गएको माघ दोस्रो साताबाट काम सुरु गरेको थियो । अहिलेसम्म करिब १३ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । ‘आयोजना अन्तर्गत ३० सडक पुल निर्माण गर्नुपर्ने छ, त्यसमध्ये १४ वटा पुलको फाउन्डेसन निर्माण सकिएर ९ वटा डाईभर्सनको काम भइरहेको छ,’ उनले भनिन्, ‘मुख्य समय लाग्ने फाउन्डेसनको काम सकिएपछि अब धमाधम पुल निर्माणका काम अघि बढेका छन् ।’

त्यस्तै सडक किनारमा फुटपाथ र सवारीसाधनका लागि सडक छुट्याउनका लागि राखिने कर्भ स्टोर पनि ४७ हजार निर्माण भइसकेको र २१ किलोमिटर यार्ड ‘ड्रेन’ निर्माण सकिएको उनले बताइन् । परियोजनाले कपिलवस्तुमा फिल्ड कार्यालय स्थापना गरेर काम गर्दै आएको छ । पहिलो र दोस्रो चरण गरी बुटवलदेखि गोरुसिंगे खण्डको रूपन्देहीमा ३० किलोमिटर र कपिलवस्तुमा २० किलोमिटर सडक विस्तार हुनेछ । 

पहिलो चरणमा बुटवलदेखि गोरुसिंगे ३१ र दोस्रो चरणमा गोरुसिंगेदेखि चन्द्रौटासम्म १९ किलोमिटर खण्डमा काम हुनेछ । दोस्रो चरणको ठेक्का प्रक्रिया भने भएको छैन । आयोजना कार्यालयका अनुसार रूपन्देहीमा २० वटा र कपिलवस्तुमा १० गरी निर्माण गर्नुपर्ने ३० वटा पक्की पुलमध्ये अहिलेसम्म रूपन्देहीका ८ र कपिलवस्तुका ५ स्थानका पक्की निर्माणको काम धमाधम भइरहेको छ । रिटेनिङ वाल र कल्भर्ट निर्माणको काम पनि तीव्र भइरहेको छ । १ सय ४९ कल्भर्ट र ६ वटा अन्डर पास/ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully