परिवारले चलाएको 'फ्यामिली रेस्टुराँ'

कृष्णप्रसाद आफूले साउदीमा पकाउने कला सिकेर आएका थिए । श्रीमती शान्तालाई पनि सिकाए । अहिले दुवै जनाले किचनमा खटिएर पकाउने काम गर्छन् ।

आश्विन १४, २०८२

सन्जु पौडेल

A family run 'family restaurant'

लुम्बिनी — रुपन्देहीको तिलोत्तमा–६ पुरानो सडकमा हेरिटेज फ्यामिली रेस्टुराँ छ । उक्त रेस्टुराँका मालिक हुन् कृष्णप्रसाद घिमिरे । उनले यो व्यवसाय थालेको ९ वर्ष पुग्यो । ग्राहकको चाहनाअनुसारका खाजा, खाना पकाउने, आएका ग्राहकलाई दिने, प्याकेजिङ मगाउनेलाई डेलिभरी गरिदिने सुविधा उनको रेस्टुराँमा छ । 

६ लाख रुपैयाँबाट व्यवसाय सुरु गरेका उनले अहिले १५ लाख बढीको लगानी पुर्‍याएका छन् । रेस्टुराँमा कृष्ण एक्लै काम गर्दैनन् । उनकी श्रीमती शान्ता, जेठा छोरा आशिष, उनका भाइका छोराछोरी र एक सहयोगी छन् । १८ महिना अघिसम्म त कान्छो छोरा अभिषेक पनि रेस्टुराँमै काम गर्थे । अचेल उनी उच्च शिक्षा हासिल गर्नका लागि अमेरिका गएका छन् ।

२०५५ सालमा नेपाल प्रहरीको जागिरे रहेका कृष्णले शान्तासित अन्तरजातीय विवाह गरेपछि परिवारबाट टाढाटाढा भएका थिए । जागिरको सिलसिलामा लमजुङ पुगेका उनले गुरुङ थरकी शान्तालाई माया गरी भगाएर विवाह गरे ।

लमजुङको दुधपोखरी–५ मा जन्मिएर पढ्दै गरेकी शान्ता माओवादी द्वशस्त्र द्वन्द्वकालमा सांस्कृतिक समूहमा नाच्ने, गाउने गर्दै लमजुङका गाउँमा हिँड्थिन् । शान्तालाई त्यसबेला देखेर कृष्णले मन पराएका थिए । विवाहपछि उनीहरु पोखरा हुँदै कृष्णको घर गुल्मीको मदाने पुग्दा माओवादीले घेरा हालेर कृष्णलाई प्रहरीको जागिरमा फिर्ता जानन दिएनन् ।

त्यसबेला ठूलो छोराको जन्म भइसकेको थियो । गाउँमै किसानी गर्ने, सानो व्यवासाय गर्ने, गाडी किनेर चलाउने गरे पनि केहीमा सफल भएनन् । त्यसपछि उनी साउदी अरब पुगे । १२ वर्ष त्यहाँ बस्दा उनले परिवार, २ छोरालाई धेरै सम्झिए । फर्केर नेपालमै केही गर्छु भनी आएका उनले परिवारसँग मिलेर रेस्टुराँ खोले ।

आफूले साउदीमा पकाउने कला सिकेर आएका थिए । शान्तालाई सिकाए । अहिले दुवै जनाले किचनमा खटिएर पकाउने काम गर्छन् । आशिष डेलिभरी पुर्याउने, भाँडा माझ्ने, अर्डर लिने काममा सघाउँछन् । भाइका छोराछोरी पकाउने सामान चाहिए, मःम बनाउनुपरे र सामान पुर्याउने कामकै लागि खटिन्छन् । यसले पारिवारिक सहायतामा व्यवसाय संचालन सहज भइरहेको शान्ताको अनुभव छ ।

साना दुई छोरालाई हुर्काउँदै पहाडमा व्यापार, खेती गरेकी शान्ताले श्रीमान् आएपछि सँगै मिलेर काम गर्दा, सुखदुःख सँगै व्यहोर्दा सबैभन्दा सन्तुष्टि यही रहेछ भन्ने लागेको बताइन् । चाडबाडका बेलामा पनि सबैसँगै हुन पाउनु भाग्य हुने रहेछ भन्ने लागेको उनले बताइन् । उनले छोरालाई समेत आफूसँगै राखेर काम गर्ने भएकाले सानैदेखि व्यवासयमा सँगै काम गरेर अघि बढेको बताइन् । जेठो छोराले स्नातक पास गरेका छन् । उनले भनिन्, ‘जेठोले होटेल म्यानेजमेन्ट नै पढेकाले उनले पनि खानेकुरा पकाउँछ । सानो छोरा अमेरिका गएर पढिरहेको छ ।’

कृष्णलाई परिवारको साथले दिनानुदिन व्यवसायमा अघि बढ्न, जीवनयापन गर्न सहज भएको छ । ‘रुँदा, हाँस्दा, केही कुरा भन्न मन लाग्दा, यसमा यो हो, यो गर्न हुँदैन भन्नुपर्दा परिवारकै बीच छलफल हुने, निष्कर्ष निकाल्न सकिने हुँदो रहेछ, त्यसले आत्मविश्वास र सकिन्छ भन्ने हिम्मत दिन्छ,’ उनी भन्छन्, ‘कहिलेकाहीँ अफ्ठ्यारो परिस्थिति त आउने रहेछ, तर परिवारका सबै सदस्य आफ्नो साथमा पाएपछि त्यो जटिलता सरल बनेको थुप्रै अनुभूति गरेको छु ।’ 

कुनै बेला उनको परिवारलाई चिनजानकाले ऋण नपत्याउने समय थियो । रेस्टुराँमा राम्रो हुँदै गएपछि अहिले २०/२५ लाखका लागि के गरुँ कसो गरुँ भन्नु नपरेको शान्ताले सुनाइन् । यही व्यवसायले मान्छे बनाउन सकेको उनले बताए ।

कृष्णले व्यवसाय गरेर नै २ वटै छोरालाई पढाएका हुन् । हाल कान्छो छोरा अमेरिका जाँदा लागेको १५ लाख बढी रकम पनि व्यवसायबाट जम्मा गर्न सकेको उनले बताए । ‘विदेश छँदा घर बनाउने पैसा जम्मा गरें, केही ऋण पनि यसै पसलबाट तिरियो,’ उनले थपे, ‘हाम्रोमा कसले के काम गर्ने भन्ने नै छैन, जसले जे देख्यो, सकेको गरिहाल्छौं ।‘ छोराले पनि साथमै बसेर काम गर्दा खुसी दिलाएको उनी बताउँछन् ।

‘ठूलो छोरा आशिषले त यसलाई बढाउन सके झनै व्यवसाय फस्टाउँछ भन्ने गरेको छ,’ कृष्णले भने, ‘सबै मिलेर काम गर्दा र छोराले यस्तो भनेको सुन्दा खुसी लाग्छ ।’

लगानी गर्न नसकुन्जेल यसबाटै गर्ने र केही रकम जोगाउँदै जान सके थप व्यवस्थित भवन बनाएर व्यवसाय चलाउने उनको सोंच छ । आफूहरू उमेर बढ्दै गएपछि काम गर्न नसक्दा छोराले यहीँ व्यवसाय गरेर साथमै रहे रमाइलो हुने उनले बताए । कृष्ण र शान्ताले परिवारको एकता र साथले जीवनका हरेक क्षणमा अपनत्व र सन्तुष्टिको भान गराउने अनुभव बटुलेको बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully