गोहीको आक्रमणमा बेपत्ता युवा खोज्न हात्ती र मोटरबोट

गेरुवा नदीमा गोहीले आक्रमण गर्दा बेपत्ता भएका २५ वर्षीय विवश थारूको अवस्था ६ दिनदेखि अज्ञात छ ।

आश्विन ११, २०८२

कमल पन्थी

Elephant and motorboat to find youth missing in crocodile attack

बर्दिया — गोहीले आक्रमण गर्दा बेपत्ता भएका गेरुवा गाउँपालिका–२ राजीपुरका २५ वर्षीय विवश थारूको अवस्था अझै अज्ञात छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गाउँका थारुलाई गोहीले गेरुवा नदीमा सोमबार आक्रमण गरेको थियो ।  

६ दिनदेखि नदीमा बेपत्ता उनको खोजीमा दुई वटा हात्ती र पालिकाको मोटरबोट परिचालन गरिएको छ । निकुञ्जबाट दुई वटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । 'थारुको अवस्था शनिबार दिउँसोसम्म अज्ञात रहेको छ,’ उनले भने, 'उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वनतरिया रेन्ज पोष्टबाट निकुञ्जका कर्मचारी र स्थानीयवासी खटिएका छन् ।'

भैंसीलाई पानी खुवाउन गएका बेला थारुलाई गोहीले आक्रमण गरेको थियो । उनीसँगै गएका अन्य तीन जना सकुशल रहेका छन् ।

बर्दियाको गेरुवा, कर्णाली, बबई लगायत खोलामा गोही भएकाले सचेत रहन निकुञ्ज प्रशासनले आग्रह गरेको छ ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully