हाल २ सय ४८ वटा कृष्णसार संरक्षण क्षेत्रमा रहेका छन् । तीमध्ये भाले ३२, पोथी १ सय ५१ र बच्चा ३५ वटा रहेको रेन्जर केसीले बताए ।
बर्दिया — मुलुककै दुर्लभ वन्यजन्तमा सूचीकृत कृष्णसार अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक भित्रिन थालेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आएका पर्यटक करिब ४५ किमी दूरीमा रहेको गुलरिया नगरपालिका–२ खैरापुरमा आउन थालेका छन् ।
कृष्णसारलाई अंग्रेजीमा ब्लाक बक भनिन्छ । गत आर्थिक वर्ष ०८१/०८२ मा स्वदेशी, सार्क र विदेशका गरि ४ हजार ६ सय पर्यटकले कृष्णसार अवलोकन गरेका थिए । कृष्णसार संरक्षण क्षेत्रका रेन्जर रामु केसीले सोही अवधिमा १सय ७ विदेशी,१३ सार्क र नेपाली ४ हजार ५ सय ८७ पर्यटकले अवलोकन गरेको बताए ।
यस चालु आवको असोज महिनाको पहिलो सातासम्म स्वदेशी र विदेशी गरि ४ सय ९३ जना पर्यटक आएका छन् । यस अवधिमा विदेशी पर्यटक जम्मा २ जना आएको उनले जनाए । वर्षातको मौसमका कारण पर्यटक कम आएका हुन् ।
पर्यटक भित्रिए पनि यस क्षेत्रमा खान, बस्नका लागि रिर्सोट, होटल र होमस्टे नहुँदा पर्यटक दिनभर अवलोकन गरेपछि पुनः बर्दिया निकुञ्जस्थित होटलमा फर्किने गर्छन् । संरक्षण क्षेत्रको विकासका लागि पर्यटकबाट प्रवेश शुल्क लिन थालिएको छ ।
विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई ५ सय र नेपालीलाई सय रुपैयाँ रहेको छ । हाल २ सय ४८ वटा कृष्णसार संरक्षण क्षेत्रमा रहेका छन् । तीमध्ये भाले ३२, पोथी १ सय ५१ र बच्चा ३५ वटा रहेको रेन्जर केसीले बताए । कष्णसार बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुर क्षेत्रमा फैलिएर रहेको छ ।
संरक्षण समितिका अध्यक्ष दीपेन्द्र यादवले कृष्णसार जोगाउन संरक्षित क्षेत्रमा अनधिकृत रुपमा बसेको बस्ती हटाउनु पर्ने बताए । वास्तविक भूमीहिन छानबिन गरी उनीहरुको व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ । ७ सय ८ बिघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३ सय ५० बिघा बढी जग्गा भूमिहीनका नाममा घर जग्गा भएकालेसमेत अतिक्रमण गरेको कृष्णसार संरक्षण समितिले जनाएको छ । सरकारले ०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो ।
