भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघले सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गरेर असोज ८ देखि १२ गतेसम्म सस्तो बजार सञ्चालन गरिने जनाएको हो ।
भैरहवा — रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघले असोज दोस्रो साताबाट दसैँ बजार सञ्चालन गर्ने भएको छ । मुलुकको प्रतिकूल अवस्थामा उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तुको एकै थलोमा सेवा दिने उद्देश्यले बजार सञ्चालन गर्न लागिएको संघले जनाएको छ ।
संघले सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गरेर असोज ८ देखि १२ गतेसम्म सस्तो बजार सञ्चालन गरिने जनाएको हो । स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न संघको हलमा बजार सञ्चालन गरिने संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए । यस्तै बजारले उचित मूल्यबारे उपभोक्तालाई सचेतना बढाउने संघले जनाएको छ ।
‘उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउन निःशुल्क स्टल उपलब्ध गराइनेछ,’ उनले भने, ‘दसैँ, तिहार र छठलगायत पर्वमा उपभोक्तालाई स्वदेशी सामान खरिद गर्न प्रेरित गर्ने लक्ष्य पनि हो ।’ पाँच दिन सञ्चालन हुने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाँडा, जुत्ता–चप्पल, घरेलु उत्पादनका १४ वटा स्टल रहनेछन् । यस बजारबाट ५० देखि ६० लाख रुपैयाँको कारोबार हुने संघले अपेक्षा गरेको छ ।
संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले दसैँको अवसरमा आयोजना गरिने बजारमा उपभोक्ताले बाहिरको तुलनामा समान सस्तो मूल्यमा खरिद गर्न पाउने बताए । यस पटक जिल्ला प्रशासनलगायत सरोकारवालाले पनि सस्तो बजार सञ्चालनका लागि अनुरोध गरेको उनले बताए । ‘जसरी हुन्छ उपभोक्तालाई राहत दिने उद्देश्य हो,’ उनले भने, ‘दसैँ बजारमा स्वदेशी उत्पादन मात्र राखिने भएकाले उद्योगलाई पनि हौसला हुन्छ ।’
संघले यसअघि चार पटक दसैँ बजार सञ्चालन गरिसकेको संघका पूर्व अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । मुलुकमा प्रतिकूल अवस्था र संघले सञ्चालन गर्ने ठूलो महोत्सव नभएका वर्ष दसैँ बजार सञ्चालन गरिँदै आएको उनले बताए । उनका अनुसार दसैँ बजार प्रत्येक दिन बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने उनले बताए ।
