गोहीको आक्रमणमा परी बर्दियामा एक जना बेपत्ता 

भैँसीलाई पानी खुवाउन गएका बेला सोमबार दिउँसो गोहीले आक्रमण गर्दा युवक बेपत्ता भएका हुन् ।

आश्विन ६, २०८२

कमल पन्थी

One person is missing in Bardia after being attacked by a crocodile

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिका–२ राजीपुरस्थित गेरुवा नदीमा गोहीले आक्रमण गर्दा एक जना बेपत्ता भएका छन् ।

भैँसीलाई पानी खुवाउन गएका बेला सोमबार दिउँसो गोहीले आक्रमण गर्दा युवक बेपत्ता भएका हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले गोहीको आक्रमणमा बेपत्ता हुनेमा सोही ठाउका २५ वर्षीय विवश थारु रहेको बताए ।

उद्धार कार्यका लागि नेपाली सेना सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वनतरिया रेञ्ज पोस्टबाट निकुञ्जका कर्मचारी खटिएका छन् । 'बेपत्ताको खोजीका लागि निकुञ्जबाट खटी गएको हात्तीलाई जंगली हात्तीले लखटेको,' उनले भने, 'माउते र हात्ती जोगाउन मुस्किल भएपछि उद्धार कार्यमा जान सकेनन् ।'

गत साउन २० गते कैलाशीस्थित खौराहा खोला किनारमा मधुवन नगरपालिका–१ कैलाशीका १९ वर्षीय रूपमिलन थारुको मृत्यु भएको थियो ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully