जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आजगनी र तोडफोड गर्दा चार पार्टी कार्यालयसहित विभिन्न संस्थाका भवनमा क्षति पुगेको थियो ।
प्युठान — भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी प्युठानका करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लामा चार वटा पार्टी कार्यालयसहित विभिन्न संस्थाका भवनमा क्षति पुगेको थियो ।
यस्तै मित्रमणि टंक स्मृति प्रतिष्ठानमा सबैभन्दा धेरै क्षति पुगेको छ । राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालय र रेडियो प्युठानको स्टेसन रहेको भवनमा तोडफोड र आगजनी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए ।
उनका अनुसार जनमोर्चाको २५ लाख, मित्रमणि टंक स्मृति प्रतिष्ठानको ८ र रेडियो प्यूठानको ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कोठाभित्रै आगजनी भएकाले घर चर्किएको समेत उनले जानकारी दिए । कार्यालयभित्र रहेका सामानसँगै पार्टीको ऐतिहासिक दस्ताबेज पनि जलेर नष्ट भएका छन् ।
सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानका सचिव इन्द्रमणि पोख्रेलका अनुसार प्रतिष्ठान कार्यालयमा २२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
प्युठान–४ जुम्रीमा रहेको माओवादी र प्युठान–८ बाग्दुलामा रहेको कांग्रेस कार्यालयमा समेत तोडफोड तथा आगजनी भएको थियो । कार्यालयमा रहेका सम्पूर्ण सामान सडकमा ल्याएर आगजनी गरिएको पार्टी सभापति विष्णुकुमार गिरीले बताए । 'भाडाको घरमा पार्टी कार्यालय रहेकाले धेरै सामान नभएकाले ठूलो क्षति भएन,' उनले भने, 'तर कार्यालयभित्रका सबै सामान जलाइदिए ।' आगजनीबाट कार्यालयले ४ लाख रुपैयाँभन्दा बढीको क्षति बेहोरेको उनले बताए ।
यस्तै माओवादी केन्द्रको करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । माओवादीका प्युठान जिल्ला संयोजक यज्ञबहादुर केसी प्रभातका अनुसार कार्यालयका टेबल, सोफा, लगायत अन्य संरचनामा क्षति पुगेको छ ।
