विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा ५ हजार दीप जलाइयो

विश्व शान्तिधाम निर्माणमा सक्रिय श्याल्पा तेन्जिङ रिन्पोछेको अगुवाइमा यस वर्ष लुम्बिनीमा विश्व शान्तिका लागि दीप प्रज्ज्वलन गरी शान्ति दिवस मनाइएको हो ।

आश्विन ५, २०८२

मनोज पौडेल

5000 lamps were lit in Lumbini wishing for world peace

लुम्बिनी — विश्व शान्तिको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबार साँझ ५ हजार दीप जलाउँदै शान्ति प्रार्थना गरिएको छ । लुम्बिनीस्थित शान्ति दीप नजिकै बेबी बुद्ध परिसरमा दीप प्रज्ज्वलन र शान्ति पाठ गरेर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको हो ।

युनिभर्सल पिस स्याङ्चुरीको आयोजनामा भएको कार्यक्रममा बौद्ध धार्मिक गुरु, भिक्षु भिक्षुणी, नेपाल स्काउट र स्थानीयको सहभागिता थियो । सहभागीले ५ हजार दीप प्रज्ज्वलन गरेर शान्ति कामना गरेका थिए । विश्व शान्तिधाम निर्माणमा सक्रिय श्याल्पा तेन्जिङ रिन्पोछेको अगुवाइमा यस वर्ष लुम्बिनीमा विश्व शान्तिका लागि दीप प्रज्ज्वलन गरी दिवस मनाइएको हो । 

नेपालको पछिल्लो जेनजी आन्दोलन र त्यसबाट उत्पन्न अशान्ति अन्त्यका लागि समेत कामना गरेको उनले बताए । ‘विश्वभर शान्ति स्थापना होस्, सबैबीच एकता कायम होस्,’ उनले भने, ‘नेपालमा शान्ति छाओस् नेपाली सम्प्रभुता जोगियोस् भनेर ५ हजार दीप बालियो ।’ 

उक्त अवसरमा भिक्षु–भिक्षुणी, उपासक–उपासिका, लुम्बिनी विश्व विद्यालयका विद्यार्थी, लुम्बिनी स्काउटका प्रतिनिधि र लुम्बिनी भ्रमणमा आएका पर्यटक दीप प्रज्ज्वलनमा सहभागी थिए । 

प्रत्येक वर्ष २१ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully