तीन महिनादेखि तानसेन श्रीनगरडाँडामा सरसफाइ

प्रत्येक शनिबार बिहानको समयमा स्वयंसेवी रूपमा श्रीनगरडाँडाको सरसफाइ गरिँदै आएको हो ।

आश्विन ४, २०८२

माधव अर्याल

Sanitation in Tansen Srinagardanda since three months

पाल्पा — तीन महिनाभन्दा बढी समयदेखि पाल्पाको तानसेन श्रीनगरडाँडा निरन्तर सरसफाइ भइरहेको छ । ‘हामी गर्छौं हाम्रो श्रीनगर सरसफाइ’ अभियानमा तानसेनका सामाजिक अभियन्ताहरू सहभागी हुने गरेका छन् । 

प्रत्येक शनिबार बिहानको समयमा स्वयंसेवी रूपमा श्रीनगरडाँडाको सरसफाइ गरिँदै आएको हो । अभियानमा आर्थिक कारोबार हुँदैन । सरसफाइका लागि चन्दासमेत नउठाइएको अभियानका संयोजक शम्भू आचार्यले जानकारी दिए । ‘कोही कसैसँग हामीले चन्दा संकलन वा आर्थिक सहयोग लिइएको छैन,’ उनले भने, ‘श्रीनगरडाँडामा फोहोर बढेकाले त्यसलाई सरसफाइ गर्ने नागरिकको स्वः स्फूर्त अभियान र दायित्व भएकाले यो अभियान चलाएको हो ।’

श्रीनगरडाँडामा घुम्न जाने आन्तरिक तथा बाहृय पर्यटकले जथाभावी फोहोर फालेकाले कुरुप बन्दै गएको छ । वियर, पानीका बोतल, जंकफुडका खोलहरु जथाभावी फालिने भएकाले पनि सरसफाइको महत्त्व भएको उनले बताए । हनुमान मूर्ति, भ्यू टावर, पिकनिक क्षेत्रमा बढी फोहोर हुने गरेको छ । 

अभियानले श्रीनगर क्षेत्रमा सुन्दरता थप्न सहयोग पुगेको उनको विश्वास छ । स्थानीय बिहानी हिँड्डुल गर्ने नागरिकमा सरसफाइप्रति चेतना फैलाउन पनि यसले मद्दत पुगेको छ । अभियानका लागि कुनै समिति गठन नभएको उनले बताए । ‘हामीले यसलाई शुद्ध नागरिक अभियानका रुपमा लिएका छौं,’ उनले भने, ‘सरसफाइ अभियान सञ्चालन भएपछि श्रीनगर क्षेत्रमा पुग्ने नागरिकहरूमा चेतनाको अभिवृद्धि भएको छ ।’ 

यसअघि जथाभावी फोहोर फाल्नेहरू अहिले सचेत भएका छन् । पछिल्लो समयमा जथाभावी फोहोर फाल्ने कार्य पनि कम देखिएको स्थानीय अभियन्ता भोजराज भट्टराईले बताए । तानसेनको सौन्दर्यकरण विस्तार र नागरिकस्तरमा सरसफाइप्रतिको धारणा विकास गर्न यो अभियानले सहयोग पुग्ने उनले बताए । 

तानसेनका विभिन्न कार्यालयका कर्मचारी, स्थानीय नागरिक, विभिन्न व्यक्तिहरूले सरसफाइका लागि आवश्यक सामग्री स्वःस्फूर्त प्रदान गर्ने गर्छन् । तानसेनको श्रीनगर क्षेत्रलाई व्यवस्थित गर्न यहाँ ट्रेकिङ मार्ग व्यवस्थापन, पिकनिक स्पट, शौचालय, पार्किङलगायत काम तानसेन नगरपालिकाले गरेको छ । 

नगरपालिकाको आन्तरिक आम्दानी श्रीनगर क्षेत्र पनि एक हो । श्रीनगर क्षेत्रलाई फोहोरमुक्त गराउन स्थानीय सरकारले जथाभावी फोहोर गर्नेलाई दण्ड जरिवाना गर्नुपर्ने अभियन्ताको सुझाव छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully