घरविहीनदेखि क्यान्सर पीडितसम्मका लागि फेसबुकमार्फत रकम संकलन भइरहेको छ भने थानपति विद्यालयले १० लाख ७० हजार रुपैयाँको अक्षयकोष खडा गरेको छ ।
गुल्मी — गुल्मीको मालिका गाउँपालिका–७ का १९ वर्षीय शशिधर पन्थी तीन वर्षअगाडि दुवै मिर्गौला फेल भएर पीडित थिए । त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको परिवारमा आर्थिक अवस्था कमजोर थियो ।
उनलाई बचाउन सामाजिक सञ्जाल फेसबुकमा अभियान नै चल्यो । उक्त अभियानमार्फत दुई लाख ७८ हजार रुपैयाँ संकलन भयो । जसले उपचारमा निकै सहज बनायो । उनी हाल पनि उपचाररत छन् । सामाजिक सञ्जालकै कारण संकलन भएको आर्थिक रकमले उनको मिर्गौला उपचारमा सहायता दिएको थियो ।
०००
२०७७ भदौ २१ मा राँगाले लखेटेपछि मदाने गाउँपालिका–२ का खगिश्वरा पोखरेलको मेरुदण्ड भाँचियो । उनी आर्थिक अभावमा उपचारबाट वञ्चित भइन् । सामाजिक सञ्जालबाटै विदेशबाट घटना थाहा पाएपछि आर्थिक सहयोग भएपछि उनको उपचारमा सहजता भयो । उनले दुई लाख रुपैयाँ सामाजिक सञ्जालकै माध्यमबाट सहयोग पाइन् । जसले गर्दा उनले राम्रोसँग उपचार गरिन् ।
०००
पाँच वर्षअगाडि माथिबाट खसेको पहिरोले मालिका–७ कै ८१ वर्षीय नरबहादुर विकको घर पूर्ण रुपमा ध्वस्त बन्यो । २३ वर्षीय छोरालाई भारतमा गुमाएका उनी र उनकी श्रीमती घरबासविहीन बनेका थिए । जुन खबर सामाजिक सञ्जाल फेसबुकमा फैलियो । जसका कारण उनलाई आर्थिक सहयोग जुट्यो । कुल एक लाख २० हजार रुपैयाँ संकलन भएपछि उनको घर बन्यो । उनीहरु अहिले त्यही बनेको घरमा आनन्दसँग बसिरहेका छन् ।
०००
इस्मा गाउँपालिका–१ का दीपक खत्री घाँटीको क्यान्सरबाट पीडित छन् । हाल चितवन क्यान्सर अस्पतालमा उपचाररत उनको उपचारमै सम्पत्ति सकियो । त्यसपछि उनलाई आर्थिक सहयोग उठ्न थाल्यो, त्यो पनि सामाजिक सञ्जाल फेसबुककै माध्यमबाट । हालसम्म उनका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग आएको छ ।
०००
इस्मा गाउँपालिका–२ का मेखबहादुर कुमाल घरको छानो मर्मत गर्ने क्रममा लडेर गम्भीर घाइते भए । उनी हाल बुटवलमा उपचाररत छन् । उपचारमा आर्थिक अभाव भएपछि सामाजिक सञ्जाल फेसबुकबाट उनलाई आर्थिक संकलन हुन थालेको छ । हालसम्म पनि आर्थिक संकलन जारी रहेको उनको उपचार जारी छ । सञ्जालबाटै आर्थिक सहयोग भएपछि उनको उपचारमा निकै राहत बनेको छ ।
इस्मा गाउँपालिका–२ को पालुखा माध्यमिक विद्यालयका शिक्षक बाबुराम पन्थीले यो अभियान चलाएका हुन् । ‘छिमेकी दाजुभाइ उपचारमा हुनुहुन्छ, आर्थिक अवस्था कमजोर छ,’ उनले भने, ‘सहयोगी माध्यम सामाजिक सञ्जाल बन्यो, जसका कारण उपचारमा सहजता भएको छ ।’ उनले घटनाबारे सामाजिक सञ्जाल फेसबुकमा राखेपछि सहयोग उठेको र अस्पतालमै पुगेर हस्तान्तरण गरेको उनले बताए । उनले नै कुमालका लागि पनि १ लाख ८० हजार रुपैयाँ सहयोग गरेका छन् ।
०००
प्रयोग गर्न जाने सामाजिक सञ्जाल कतिसम्म प्रभावकारी छ भन्ने अर्को उदाहरण हो, मालिका–८ को थानपति आधारतभूत विद्यालयले स्थापना गरेको अक्षयकोष । फेसबुककै प्रयोग गरेर १० लाख ७० हजार रुपैयाँको अक्षयकोष विद्यालयले खडा गरेको छ ।
मात्र ६ महिनाको अवधिमै फेसबुकबाटै आह्वान गरेर उक्त रकम संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डीबी खड्काले बताए । ‘हाम्रो अभियान सामाजिक सञ्जालमै चर्चा गरेका हौं,’ उनले भने, ‘फेसबुकबाटै जानकारी पाएर धेरैले सहयोग गर्नुभयो ।’ उनले स्थानीयले मात्रै नभई छिमेकी पालिका मदाने गाउँपालिका, दाङ र काभ्रेपलाञ्चोकबाट समेत आर्थिक सहयोग प्राप्त भएको बताए । उक्त रकमबाट आउने ब्याज विद्यालयको दीर्घकालीन शैक्षिक विकासका लागि प्रयोग गर्ने विद्यालयको योजना छ । न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि वार्षिक १ लाख ८० हजार रुपैयाँ बराबरको सहयोग भएको उनले बताए । सामाजिक सञ्जालकै कारण पारिवारिक उत्सवको अवसरमा समेत सहयोग प्राप्त भएको खड्काको भनाइ छ ।
फेसबुक लगायत सामाजिक सञ्जालका माध्यमबाट दीर्घकालीन जटिल रोगका उपचार भएका छन् । मिर्गौलापीडित, मुटु रोग, क्यान्सर पीडित र भईपरी आउने गम्भीर समस्याको समाधानका लागि सामाजिक सञ्जाल नै सहज माध्यम बनेको छ । सामाजिक सञ्जालकै कारण समयमै सूचना, राहत, उद्धार र आर्थिक सहयोग संकलनका काम सहज रुपमा भइरहेका छन् ।
स्थानीय तहमा शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीका सेवा सुविधा र असुविधाका सूचना पनि तत्कालै प्रदान हुने गरेको छ । फेसबुक, म्यासेन्जर, टिकटक, ह्वाटसप, भाइबर र एक्स लगायतका सामग्री यसका सहयोगी माध्यम बनेका छन् ।
विश्लेषक गणेश श्रीपालीले सूचनाको सहज पहुँच र आफू अभिव्यक्त हुने अधिकार सबैमा समान रहेको बताउँछन् । ‘सन्देशमूलक सामग्री हेरेर सकारात्मक ज्ञान लिन सकिएको छ,’ उनले भने, ‘सामाजिक सञ्जालका माध्यमले थुप्रै प्रतिभा बाहिर आएका छन् ।' भौतिक रुपमा टाढा रहे पनि साथमै रहेजस्तो अनुभूति गराउने, सम्बन्ध कायमै राख्न सघाउने उनी बताउँछन् । 'यसका साथै बिरामीको उपचारमा सहयोग जुटाउन, सामाजिक कार्यमा एकजुट हुनका लागि सामाजिक सञ्जाल प्रभावकारी बनेको छ,' उनले भने ।
