तोडफोड र आगजनीबाट सेवा प्रवाह ठप्प भएका कार्यालय पुरानै अवस्थामा फर्काउन रुपन्देहीमा रहेका संघ, संस्था तथा व्यक्तिले सहकार्य गरिरहेका छन् ।
तिलोत्तमा — जेन–जीको अगुवाईमा भदौ २३ मा भएको आन्दोलन र त्यसपछि भदौ २४ मा भएको प्रदर्शनका क्रममा रुपन्देहीमा जलाइएका सरकारी कार्यालयबाट सेवा सञ्चालन गर्न जिल्लास्थित नागरिक समाज, संघसंस्था र व्यक्तिले सहयोग गरेका छन् । तोडफोड र आगजनीबाट सेवा प्रवाह ठप्प भएका कार्यालय पुरानै अवस्थामा फर्काउन रुपन्देहीमा रहेका संस्था तथा व्यक्तिले सहकार्य गरिरहेका हुन् ।
आन्दोलनका क्रममा जिल्लाको तिलोत्तमा नगरपालिका-९ स्थित इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा त्यहाँ भएका सबै सामग्री, सवारी साधन जलेर नष्ट भएका थिए । प्रहरीले नागरिकलाई सेवा प्रदान गर्न सक्नेगरि केही पनि बाँकी नरहेको कार्यालय रंगरोगन र सामग्री जुटाउन स्थानीय तिलोत्तमा गाइज नामक संस्थाले सहयोगी हात अघि बढाएको थियो ।
उक्त संस्थाले भदौ २५ गतेदेखि उक्त कार्यालयमा आवश्यक फर्निचर, बिजुलीको वायरिङका लागि आवश्यक सामग्रीलगायत उक्त कार्यालयको रंगरोगन गरी सेवा प्रदान गर्न योग्य बनाइदिएको छ । संस्थाका अध्यक्ष पूजन केसीले आन्दोलनको क्रममा भएको घटनाले सेवा प्रदान गर्ने निकायमा क्षति भएपछि आफूहरु अग्रसर बनेर सहयोग गर्नुपर्छ भनी स्थानीय अग्रजसँग सहयोग संकलन गरी प्रहरी कार्यालयलाई सहयोग गरिरहेको बताए । उनले इलाका प्रहरी कार्यालयसँगै मंगलापुरस्थित ट्राफिक प्रहरी कार्यालयमासमेत क्षति भएकाले त्यहाँ पनि सहयोगको काम गरिरहेको जनाए । 'हामी आन्दोलनमा सहभागी भएका थिएनौं, संस्था स्थापनादेखि नै सामाजिक काम गरिरहेकाले यो पुण्यको काममा अघि बढेर लाग्यौं,' उनले भने, 'हामीलाई जहाँबाट जे सामग्री वा रकम सहयोग आएको हुन्छ, त्यसबाट कार्यालयमा आवश्यक सामान खरिद गरि प्रदान गरिरहेका छौं ।' आफूहरुको काममा जिल्लाका अग्रजले साथ दिइरहेको, सहयोग गरिरहेको उनले बताए ।
उक्त कार्यालयमा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले पनि सहयोग गरेको थियो । उसले कम्प्युटर, लोबेड, दराज जस्ता सामग्री उपलब्ध गराएको हो । उक्त कार्यालयमा फर्निचर, कार्यालयको गाडी, प्रहरी कर्मचारीको २ वटा मोटरसाइकल, नियन्त्रणमा रहेका मोटरसाइकल, अन्य सामग्री सबै जलेर नष्ट भएको इन्चार्ज सुदीप जिसीले जानकारी दिए । उनले सहयोगी संस्थाले साथ दिएर नागरिकको सेवामा हाजिर हुन सकिएको बताए ।
आन्दोलनकारीले बुटवलको इलाका प्रशासन कार्यालयमासमेत तोडफोड र आगजनी गरेका थिए । उक्त कार्यालयको सेवा पूर्णरुपमा बन्द भएको थियो । अहिले कार्यालयका कर्मचारीले सरसफाई गरी कार्यालयलाई काम गर्न योग्य बनाउनेतर्फ अघि बढेको बताएका छन् । कार्यालयका प्रमुख रामचन्द्र अर्यालले आफूहरु बिहानैदेखि कार्यालयमा आउने जसले जे काम गर्न सक्छ गर्ने गरेको बताए । उनले केन्द्रबाट भर्खरै बजेट आउने विषय सम्भव नभएकाले यहाँका संघसंस्थासँग आग्रह गरी सेवाग्राहीलाई सेवा दिन पाए हुन्थ्यो भन्नेमा आफूहरु रहेको बताए । भूपूसैनिक कल्याणकारी मञ्चले कार्यालयमा सिसा लगाइदिने, रुपन्देही उद्योग संघले कम्प्युटर, प्रिन्टर प्रदान गर्ने भएका छन् । त्यस्तै, अर्यालले रंगरोगनका लागि सम्बन्धित संस्थासँग आग्रह गरेको बताए । उनले न्यूनतम सेवा रोक्नु हुँदैन भनी आइतबारदेखि नागरिकताको प्रतिलिपि र नयाँ नागरिकता प्रदान गर्ने काम सुरु गरिने बताए । साथै राष्ट्रिय परिचयपत्र र राहदानी अति आवश्यक परेका नागरिकलाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी उक्त कार्यालयमा आफ्ना ३ कर्मचरी खटाई सेवा दिइरहेको उनले जानकारी दिए ।
