प्रदेशसभाको छैटौं अधिवेशनमा दुई विधेयक दर्ता भए पनि त्यसमाथि छलफल हुन सकेन ।
What you should know
बुटवल — लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै भदौ ३१ गते राति १२ बजेदेखि नै प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएको हो ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधान १८३ को उपधारा २ बमोजिम २०८२ भदौ ३१ गते राति १२ बजेदेखि अन्त्य हुने गरी लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । सचिव पुनका अनुसार २०८२ वैशाख ३१ गतेदेखि सुरु भएको छैटौं अधिवेशनमा १७ वटा बैठक बसेका छन् ।
बैठकमा सरकारको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो ।अधिवेशनको पहिलोदेखि १२ औं बैठकसम्म प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रम, प्रिबजेट लगायतका विषयमा छलफल गरेका थिए । अधिवेशनको १३ औं बैठकमा बजेट प्रस्तुत भएको थियो । १४ औं बैठकबाट बजेट माथिको छलफल सुरु भएको थियो । १५ औं बैठकमा अर्थ विधेयकमाथि दफावार छलफल, १६ औं बैठकमा विनियोजन विधेयकमाथि दफावार छलफल गरेर १७ औं बैठकले बजेट पारित गरेको थियो ।
बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको अधिवेशन भदौ ३१ गतेदेखि लागू हुने गरी अन्त्य भएको हो ।
प्रदेशसभाको छैटौं अधिवेशनमा दुई विधेयक दर्ता भए पनि ति दुवै विधेयकमाथि छलफल हुन सकेन । सचिव पुनका अनुसार स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता भएका थिए । ‘बजेट पारित भएपछि अन्य बैठक बस्न सकेन, त्यसैले दर्ता भएका दुवै विधेयक टेबुल हुनै पाएनन्,’ उनले भने, ‘अब आहृवान हुने अधिवेशनमा ती विधेयकमाथि छलफल होला ।’ छैटौं अधिवेशनले बजेट विधेयकहरु माथि छलफल र पारित गरेर सकिएको उनले बताए ।
