चार महिना ठप्प रहेको सडक निर्माणमा २२ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ। स्थानीयले सास्ती भोग्दै आएका छन्।
What you should know
गुल्मी — मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको ‘सिमलटारी–सौतामारे–मच्छी’ सडक कछुवाभन्दा पनि सुस्त गतिमा निर्माण भइरहेको छ । गुल्मी खण्डको १६ र प्यूठान खण्डको १५ किलोमिटर सडकखण्ड निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिए पनि काम भने २६ प्रतिशत मात्रै सकिएको हो ।
गुल्मीको सिमलटारीदेखि सौतामारे र प्यूठानको सौतामारेदेखि मच्छीसम्म ३१ किलोमिटर सडक कालापत्रे गर्नेगरि मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास र श्रेष्ठ सक्षम जेभीबीच २०७९ कार्तिक ६ मा सम्झौता भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिए ।
कुल १ अर्ब ४५ करोडमा २०८२ साउन ५ मा निर्माण सक्नेगरि सम्झौता भएको उनले बताए । म्याद सकिएको एक महिना बिते पनि हालसम्म जम्मा २६ प्रतिशत मात्रै भौतिक प्रगति भएको सूचना अधिकारी पौडेलले बताए । जसबाट २२ प्रतिशत वित्तीय प्रगति भएको छ ।
पछिल्लो चार महिना यो सडकखण्डको कार्य पूर्ण रुपमा ठप्प थियो । कार्यालयले पटक–पटक ताकेता गरेपछि अहिले निर्माण व्यवसायीको तर्फबाट पहिरो पन्छाउने काम मात्रै भएको छ । बीचको समयमा निर्माण व्यवसायी सम्पर्कविहीन थिए । निर्माण कम्पनीका इन्जिनियर किशन साहले बजेटमा समस्या देखाउँदै हाल कार्यालयमा म्याद थपका लागि निवेदन दिएको बताए ।
निर्माण व्यवसायीको लापरबाहीले सडक भताभुङ्ग पारेर छाड्दा स्थानीयले निकै सास्ती खेप्नुपरेको मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बताए । ‘बस्ती र खेतबारी जोखिम साथै सडकमा यात्रुलाई समस्या भएको छ,’ उनले भने, ‘कार्यालय र निर्माण कम्पनीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम भएको छैन ।’
अहिले पनि निकै सुस्त गतिमा काम चलिरहेको उनले बताए । गुल्मीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले पहिलो चरणको काम मात्रै सकेकोमा अब तत्काल काम तीव्र गतिमा बढाउन निर्देशन गरेको बताए । उनले मदाने गाउँपालिका र मदन भण्डारी राजमार्ग योजना कार्यालयलाई लिएर सडकको अनुगमन गरेको बताए । उनले अब कामले तीव्रता पाउने आशा व्यक्त गरे ।
