कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक अवरुद्ध

कालीगण्डकी करिडोर सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडोर हुँदै हिँड्ने यात्रुले सास्ती खेपेका छन् ।

आश्विन १, २०८२

सन्तोष महतारा

Three main roads of Gulmi along with Kaligandaki Corridor are blocked

What you should know

गुल्मी — गुल्मीमा कालीगण्डकी करिडोरसहित तीन मुख्य सडक अवरुद्ध भएका छन् । मंगलबार बिहानैदेखि भइरहेको वर्षाका कारण बुधबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।

कालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका-२ राक्सेमा माथिबाट खसेको पहिरो, बुटवल-वुर्तिवाङ्ग सडकखण्डको रुद्रवेणी-वामीको गुल्मी खण्डमा सत्यवती गाउँपालिका-६ डहरे खोलामा बढेको पानीको बहाव, सोही खण्डकै सत्यवती-४ मा भीर पहिरो र रिडी तम्घास सडकखण्डको रुरुक्षेत्र गाउँपालिका-३ सल्लेरीमा सडक अवरुद्ध भएको हो । रिडी-तम्घास खण्डको मात्रै वैकल्पिक सडक रहेको छ । अन्यत्र भने यातायात पूर्णरूपमा ठप्प छ ।

कालीगण्डकी करिडोर सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडोर हुँदै हिँड्ने यात्रुले सास्ती खेपेका छन् । कालीगण्डकी करिडोरमा गुल्मी खण्डमा गरगरे, राक्से, मुल्क र कनौटामा पटकपटक सडक अवरुद्ध हुनेगरेको छ ।

कालीगण्डकी गाउँपालिकाकै वडा नम्बर १,२ र ३ मा करिडोरको गुल्मी खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । डहरे खोला रिडी-वामी सडकखण्ड पर्दछ । यो बुटवल वुर्तिवाङ्ग सडकखण्डको रुद्रवेणी-वामी खण्ड हो । 

डहरे खोलामा पानी पर्ना साथ खोला कालो लेदो माटोसहित आउँदा बाटोको निसाना नै हराउने गर्छ । यसपटकको वर्षायाममा पटक–पटक डहरे खोलामा सडक अवरुद्ध भइरहेको छ । जसका कारण यो सडक भएर हिँड्ने सार्वजनिक तथा निजी सवारीसाधनका यात्रुलाई सास्ती हुँदै आएको छ ।

हाल सडक खुलाउने प्रयास भइरहेको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

सन्तोष

Link copied successfully