आइतबारदेखि हराइरहेकी ४५ वर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्यांकी नजिकै सोमबार मृत फेला परेकी थिइन् ।
नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका–३ सिनावासमा चितुवाको आक्रमणमा परी महिलाको मृत्यु भएको छ ।
आइतबारदेखि हराइरहेकी ४५ वर्षीया लक्ष्मी थारु जनमुखी सामुदायिक वनको पुरानो पानी ट्यांकी नजिकै सोमबार मृत फेला परेकी थिइन् । डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर गुप्ताका अनुसार थारुको शव आसपासमा चितुवाको पाइला देखिएको थियो । क्यामेराको सहायताले चितुवाको आक्रमणबाट थारुको मृत्यु भएको पत्ता लागेको उनले बताए ।
घटनापछि स्थानीय आतंकित भएकाले भाले चितुवालाई समाउन प्राविधिक टोली पठाइएको गुप्ताले जानकारी दिए ।
‘हामीले त्यहाँ जेडएसएलको सहयोगमा पाँच वटा क्यामेरा जडान गरेका छौं,’ उनले भने, ‘एनटी एनसीको टोली आएर पासो थाप्नका लागि खोर बनाइरहेका छौं ।’
