आगजनी र तोडफोडपछि अदालतबाट प्रवाह हुने नियमित न्याय सम्पादनको काम कारबाही तथा सेवा अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द रहेको अवस्थामा अदालती सूचना र कानुनी प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले निःशुल्क कानुनी परामर्श सेवा सञ्चालन गरिएको हो ।
नेपालगन्ज — नेपालगन्जका कानुन व्यवसायीले निःशुल्क अनलाइन कानुनी परामर्श सेवा सुरु गरेका छन् । सार्वजनिक सरोकार कानुन व्यवसायी समूह (पीआईएल ग्रुप) अदालतबाट नियमित सेवा सञ्चालन नभएसम्म निःशुल्क कानुनी परामर्श सेवा दिने निर्णय गरेको हो ।
आगजनी तोडफोड र लुटपाटबाट सर्वोच्च अदालतलगायत बाँकेस्थित उच्च अदालत, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, बार भवन लगायत अन्य सरकारी तथा स्थानीय निकायको कार्यालय समेत पूर्ण रूपमा क्षति भएको छ । अदालतबाट प्रवाह हुने नियमित न्याय सम्पादनको काम कारबाही तथा सेवा अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द रहेको छ ।
न्याय सम्पादनको कार्य बन्द भएपछि आम सर्वसाधारण प्रभावितसँगै अन्योलपूर्ण अवस्थामा अदालती प्रक्रिया, हदम्याद, म्याद, पेशी, तारेख समेतका विषयमा नियमित रूपमा जानकारी दिन, अदालतबाट सेवा सञ्चालन बारे प्रेषित सूचना र कानुनी प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले निःशुल्क कानुनी परामर्श सेवा सञ्चालन गरिएको समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले बताए ।
उनका अनुसार समूहमा आबद्ध कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, अधिवक्ताहरू वसन्त गौतम, बलबहादुर चन्द, विकास आचार्य, विश्वजित तिवारी, सुनिता शर्मा र केवलसिंह थारुले निःशुल्क कानुनी परामर्श सेवा प्रदान गर्नेछन् ।
