रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रुपन्देहीमा मंगलबारदेखि पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ। आदेश उल्लंघन गर्नेहरूलाई कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

भाद्र २४, २०८२

सन्जु पौडेल

Indefinite injunction in Rupandehi

तिलोत्तमा — जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनिश्चतकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार जिल्लामा जेनजी प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आदेशको उल्लंघन गर्ने वा कार्यान्वयनमा अवरोध गर्ने जो कसैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully