‘हाम्रो ब्लड बैंक, हामी बनाउँछौं’ अभियानबाट ६८ लाख संकलन
What you should know
पाल्पा — नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ६३ औं रेडक्रस दिवसका अवसरमा बिहीबारदेखि पाल्पामा ब्लड बैंक सुरूवात गरेको छ । पाल्पाका चार ठूला अस्पतालसहित एउटा डायलासिस सेन्टरका लागि रगत अभाव परिपूर्ति गर्ने उद्देश्यले ब्लड बैंक सुरूवात गरिएको रेडक्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्कीले जानकारी दिए ।
तानसेन नगरपालिका १ भुसालडााडामा ब्लड बैंकका लागि आफ्नै भवन निर्माणाधीन भए पनि अहिले कार्यालयमा कोठा व्यवस्थापन गरेर सुरूवात गरेको हो । यो अभियानका लागि ‘हाम्रो ब्लड बैंक, हामी बनाउँछौं’ अभियान सुरूवात गरेको थियो । अहिलेसम्म ६८ लाख देश तथा विदेशमा बस्ने व्यक्ति, संघसंस्था, विद्यालय, बैंक तथा वित्तीय संस्थाबाट संकलन भएको उपाध्यक्ष भीमसेन कार्कीले बताए ।
ब्लड बैंकका लागि तानसेन नगरपालिका–१, भुसालडाँडामा नौ आना जग्गामा शहरी विकास मन्त्रालयबाट गत आर्थिक वर्षमा एक करोड ५३ लाख र यसवर्ष ३ करोड बजेट विनियोजन भएर काम भइरहेको छ । अहिले दुई तला ढलान भईसकेको छ । असोज मसान्तसम्म सम्पन्न हुने रेडक्रसले जनाएको छ ।
ब्लड बैंक संचालनका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालयबाट ५० लाख रूपैयाँ सहयोग आएको छ । पाल्पाका स्थानीय तहले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त ५० लाख बजेटबाट तानसेन नगरपालिकामार्फत् टेन्डर प्रक्रियाबाट ब्लड बैंकको सामग्री खरिद भएको स्वास्थ्य उपसमिति संयोजक डा. झपेन्द्र ढकालले जानकारी दिए । ब्लड बैंक सुरूवातको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
रामपुर नगरपालिकाबाट १० लाख बराबरबो जेनेरेटर, रिब्दीकोट गाउँपालिकाबाट ५ लाख बराबरको युपिएस र ब्याट्री, रम्भा गाउँपालिकाबाट ५ लाख बराबरको एसी, फ्रिज, कार्यालय प्रयोजनका सामग्री खरिद गरिउको छ । नपुग सामग्री रक्त संचार केन्द्रका लागि ६ लाख ६५ हजार खर्च गरिएको छ । पाल्पामा वार्षिक २ हजारदेखि ३ हजार ५ सय पिन्ट रगत संकलन हुने अनुमान रेडक्रसको छ ।
‘हाम्रो ब्लड बैंक, हामी बनाउँछौं’ अभियान चलाएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले छोटो समयमै ६८ लाख रकम संकलन गरेको छ । अभियान अन्तर्गत संस्थामा आवद्ध यशस्कर सदस्य, विशिष्ट सदस्य, स्मृतिकोष, विभिन्न संघसंस्था, व्यक्ति, विद्यालय साथै स्वदेश र विदेशमा बस्ने नेपालीबाट रकम संकलन भएको छ ।
रेडक्रसले मात्रै ब्लड बैंक स्थापना गर्न स्रोत अभाव भएकाले सबै पाल्पाली साथै स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गरेर मात्रै अभियान सफल हुने रेडक्रस पाल्पाका मन्त्री केशवराज नेपालले बताए ।
जिल्लामा पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पताल गरी चार ठूला अस्पताल छन् । यहाँका अस्पतालहरूमा वार्षिक ४ हजार युनिट रगत आवश्यकता हुने अनुमान गरिएको छ । अहिले व्यक्तिगत सम्पर्कका आधारमा दुःखका साथ रगत परिपुर्ति हुँदै आएको मन्त्री नेपालले बताए । ‘१५ दिनअघि मात्र एक जना बिरामीको रगत अभावले मृत्यु भयो भन्ने सुनियो,’ उनले भने, ‘यो भन्दा दुःखको विषय के हुन सक्छ ?’
माथागढी गाउँपालिका–१, चिदीपानी ढकालकुनाका ६३ वर्षीय दिवाकरण नेपालको रगत अभावकै कारण दुःखद निधन भएको उनले बताए । आन्तरिक ‘ब्ल्डिीङ्’ रक्त प्रवाह भएपछि आवश्यकता अनुसार रगत पुर्याउन नसक्दा ज्यानै जाने अवस्था सिर्जना भएको हो । ‘ठूला अस्पतालमा दैनिक शल्यक्रिया हुन्छ, तर रगत जोहो गर्न धेरै दुःख छ,’ नियमित रक्तदाता संघका पाल्पा अध्यक्ष भगवान भण्डारीले भने, ‘छिटो ब्लड बैंक खुले हुन्थ्यो भन्ने धेरै भएको थियो । ब्लड बैंक खुलेको छ यसले सही ढंगले काम गर्नुपर्छ ।’ नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पामा अत्यावश्यक रहेको ब्लडक बैंक सुरूवातले पाल्पा, गुल्मी, स्याङ्जा लगायत छिमेकी जिल्लाका नागरिकले फाइदा पाउनेछन् ।
रेडक्रसले अभियान संचालन गरी ३ करोड अक्षयकोषमा राख्ने योजना बनाएको छ । यही रकमबाट आउने ब्याजले कर्मचारी र प्रशासनिक खर्च चलाउने योजना बनाएको छ । पाल्पादेखि बाहिर रहेका पाल्पाली समाज पोखरा, पाल्पाली समाज काठमाडौं, लघुवा समाज काठमाडौं तथा विदेशमा रहेका पाल्पाली सेवा समाज कतार, पाल्पाली संगम अमेरिका, नमस्ते पाल्पा परिवार दक्षिण कोरिया लगायत विभिन्न विदेशमा बस्ने संस्था तथा व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
रेडक्रसले ब्लड बैंक अभियान २०८० चैतदेखि सुरू भएको हो । रक्तसञ्चार केन्द्र स्थापना भएपछि यहाँका ठूला अस्पतालहरूमा आवश्यक पर्ने रगत ब्लड बैंकबाटै उपलब्ध हुने रेडक्रस पाल्पाका कार्यक्रम अधिकृत विनोद भारतीले बताए । उनका अनुसार आगामी दिनमा रक्तदान अर्थात् ब्लड डोनेसन कार्यक्रम राख्दा रेडक्रससंग समन्वय गरेर राख्नुपर्ने हुन्छ ।
ब्लड बैंक संचालन गर्न छुट्टै सुरक्षित कोठा वा भवन स्वच्छ र वातावरणीय मापदण्ड अनुसार हुनुपर्छ । रक्तदाताको जाँच गर्ने कोठा, रगत संकलन गर्ने कोठा, प्रयोगशाला (ल्याब) कोठा, रगत भण्डारण कोठा (फ्रिज/कोल्ड चेन सहित) हुनुपर्ने व्यवस्था छ । यसैगरी रगत वितरण कक्ष, उपकरण, रगत संकलन गर्ने झोला र सुई, रगत हाल्दा चलाउने मेसिन, रगत छुट्याउने मेशिन, ब्लड स्टोरेज फ्रिज, प्लाज्मा राख्ने गहिरो फ्रिज, सुक्ष्मदर्शक, रोग परीक्षण गर्ने मेसिन, हेमाटोलोजी एनालाइजर, अटो–क्लाभ, फोहर व्यवस्थापन उपकरण लगायतका सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
