नेपाली सेनाका २५, सशस्त्र प्रहरीका ३० र नेपाल प्रहरीका २५ जनासहित स्थानीय बासिन्दा अस्थायी तटबन्ध बनाउन जुटेका छन् ।
What you should know
बर्दिया — पहाडी भेगमा परिरहेको वर्षाले कर्णाली नदीमा जल बहाव बढेसँगै कटान रोकिएको छैन । कर्णालीमा मंगलबार बिहान ८ दशमलव १४ मिटर माथि पानी बगिरहेको छ । कर्णालीमा १० मिटरमाथि पानी बगे सामान्यता उच्च जोखिम मानिन्छ ।
जल बहाव बढेसँगै गेरुवा गाउॅपालिका–२ स्थित वनघुस्रामा कर्णाली नदीले कटान गरिरहेको छ । कर्णाली नदीले गेरुवा गाउँपालिका–२ वनघुस्रास्थित तटबन्ध बगाएपछि कटान रोक्न नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले सोमबार दिउँसोबाट श्रमदान सुरु गरेका छन् । बोरामा बालुवा भरेर र स्याला काटेर कटान क्षेत्रमा अस्थायी तटबन्ध थालेका हुन् ।
जलस्तर बढेका कारण अस्थायी तटबन्धमा समस्या भरहेको छ । मंगलबार पनि अस्थायी तटबन्ध गर्ने काम जारी राखिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । 'खतराको चिह्न पार नगरेकाले तटबन्ध गर्ने कामलाई जारी राखिने भएको छ,’ उनले भने, 'तटबन्धका लागि बोल्डर (ठूला ढुंगा) को आवश्यकता भए पनि अहिले अभाव भएकाले बोरामा बालुवा भर्ने र स्याला राखेर अस्थायी रोकथाम गरिन थालिएको छ ।'
नेपाली सेनाका २५, सशस्त्र प्रहरीका ३० र नेपाल प्रहरीका २५ जनासहित स्थानीयले अस्थायी तटबन्ध बनाउन जुटेको जिल्ला विपत् व्यवस्थापन समितिका सदस्य एवं सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए । नदी कटान तीव्र भएको र लगातार पानी पर्नुका साथै कर्णालीमा जल बहाव बढेकाले जोखिम रहेको उनले जनाए ।
नदी कटानले आधा दर्जनभन्दा बढी गाउँ उच्च जोखिममा परेका छन् । कर्णालीको कटानले करिब ३ सय मिटर तटबन्ध बगाएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरले जनाएको छ । गेरुवा–२ का वडा अध्यक्ष कृष्ण थारुले नदी कटान तीव्र भएकाले अस्थायी तटबन्ध पनि बग्न सक्ने बताए । नदीमा बनाइएको तटबन्धसँगै स्पर बगाएकाले कर्णाली नदीले धार परिवर्तन गरी वनघुस्रा, वनकट्टी, सनकट्टी, टिकुलीगढ, लोहारपुर लगायतका बस्तीमा बाढी पस्ने जोखिम बढेको उनले जनाए ।
बर्दिया गेरुवा-२ वनघुस्रामा ५ वर्षअघि निर्माण गरिएको तटबन्ध बगाएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले बालुवा बोरामा भर्दै कटान क्षेत्रमा राख्न थालेका छन् ।
