थापा सर्मथकले बजारमा प्रदेश समिति सभापति अमरसिंह पुनविरुद्ध नाराबाजी गर्दै सदरमुकाममा रहेको कांग्रेस जिल्ला पार्टी कार्यालय पुगेर मूलगेटमा तालाबन्दी गरेका हुन् । सभापति पुनले थापालाई मनोनीत गरेर कांग्रेस प्रदेश समिति सदस्य बनाएका थिए ।
कपिलवस्तु — कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पूर्वएसएसपी विक्रमसिंह थापालाई प्रदेश समिति सदस्य पदबाट हटाइएको विरोधमा असन्तुष्ट समूहले जिल्ला पार्टी कार्यालयमा तोडफोड र तालबन्दी गरेका छन् ।
थापा सर्मथकले बजारमा प्रदेश समिति सभापति अमरसिंह पुनविरुद्ध नाराबाजी गर्दै सदरमुकाममा रहेको कांग्रेस जिल्ला पार्टी कार्यालय पुगेर मूलगेटमा तालाबन्दी गरेका हुन् । सभापति पुनले थापालाई मनोनीत गरेर कांग्रेस प्रदेश समिति सदस्य बनाएका थिए ।
३५/४० जनाको समूहले कार्यालयभित्रका १३ वटा प्लास्टिकका कुर्सी तोडफोड गरेको पार्टी जिल्ला सचिव प्रेमबहादुर रायमाझीले बताए । लोकतन्त्रमा असन्तुष्टिका कुरा प्रजातान्त्रिक तरिकाले राख्न सकिने व्यवस्था हुँदै अराजकता देखाउनु राम्रो नभएको जिल्ला पार्टी अध्यक्ष अब्दुल कलामले बताए । 'कुनै कुरा चित्ता नबुझे पार्टीमा राखेर छलफल गर्न सकिन्छ,' उनले भने, 'निकास निस्कन्छ । तर, कानुन आफ्नो हातमा लिनु हुँदैन ।'
थापालाई साउन ११ गते कांग्रेस लुम्बिनीका सभापति पुनले पदमुक्त गरेको पत्र पठाएका थिए । तर, भदौ १५ गते मात्र उक्त पत्र सार्वजनिक भएपछि कांग्रेसको एक पक्ष असन्टुष्ट भएको थियो ।
गत संसदीय निर्वाचनमा थापा लुम्बिनी प्रदेशसभा सदस्य पदमा पराजित भएपछि जिल्ला पार्टी संस्थापन पक्षसँग दूरी बढ्दै गएको थियो ।