हिंसाविरुद्ध न्याय सम्बोधनका लागि रामपुरको सिफारिस प्रणाली कार्यविधि सार्वजनिक

घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन तयार गरिएको कार्यविधि सार्वजनिक गरिएको हो ।

भाद्र १६, २०८२

माधव अर्याल

Rampur's recommendation system procedure for addressing violence against violence is public

What you should know

पाल्पा — महिला बालबालिकामाथि हुने हिंसाविरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले सिफारिस प्रणाली कार्यविधि–२०८२ सार्वजनिक गरेको छ ।

घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन तयार गरिएको कार्यविधि सार्वजनिक गरिएको हो । कार्यविधि सार्वजनिक गर्दै राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले विभिन्न कानुन निर्माणमा ढिलाइ हुँदा जनताले अनुभूति गर्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई पूर्ण संस्थागत गर्न नसकेको बताइन् । 

कार्यविधिले हिंसामा परेका नागरिकलाई सेवा दिन सहजता प्रदान गर्ने भन्दै उनले स्थानीय सरकारको एकल अधिकारअन्तर्गत कार्यविधि तयार भएको र सकेसम्म हिंसा हुन नदिने र भइहालेमा न्याय सुनिश्चित गर्ने बताइन्गै ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थानीय सरकारलाई संविधानले अधिकार दिए पनि स्पष्ट कार्यविधि नहुँदा आफ्नै अधिकारभित्रका काम गर्न कठिनाइ हुने गरेको बताए । महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध न्याय दिन यस कार्यविधि ऐतिहासिक भएको उनको भनाइ थियो ।

नगरपालिकाले १७ वटा ऐन, ९ वटा नियमावली र ७८ वटा कार्यविधि तयार गरेको छ । कार्यविधि कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध भएर लाग्ने उनले बताए । इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले पीडितलाई उपलब्ध हुने सेवाहरुलाई प्रभावकारी बनाउन कार्यविधि सहयोगी हुने भनाइ राखे । इलाका प्रहरी कार्यालयका प्रमुख रामबहादुर नेपालीले कार्यविधिले न्यायको लागि सम्बन्धित निकायमा जानको लागि प्रेरित गर्ने धारणा राखे ।

हिंसामा परेका महिला तथा बालबालिकालाई मनोसामाजिक सेवा, सुरक्षा, संरक्षण, स्वास्थ्य उपचार, कानुनी सहयोग, शिक्षा, पुनःस्थापना, परिवार मिलाप लगायतका सेवा उपलब्ध गराउनको लागि स्थानीय तहमार्फत प्रणाली निर्माण गरिएको उपप्रमुख बालकुमारी थापाले बताइन् । नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र घरेलु हिंसासम्बन्धी कानुनअनुसार पनि स्थानीय सरकारको जिम्मेवारीभित्र पर्छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully