कर्णाली नदीले तटबन्ध बगाउन थालेपछि गेरुवाको बनघुस्रा गाउँ जोखिममा

सोमबारदेखि लगातारको वर्षाले कर्णालीमा जलस्तर बढ्दा बनघुस्राका वासिन्दामा बाढीको त्रास फैलिएको छ।

भाद्र १६, २०८२

कमल पन्थी

Banghusra village of Geruwa is at risk after the Karnali river started to overflow its embankment

What you should know

बर्दिया — कर्णाली नदीले गेरुवा गाउँपालिका–२ बनघुस्रास्थित तटबन्ध बगाएपछि आधा दर्जन बढी गाउँ उच्च जोखिमा परेका छन् । कर्णालीको कटानले करिब ३ सय मिटर तटबन्ध बगाएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजापुरले जनाएको छ ।

करिब ५ वर्षअघि झण्डै ३ करोडको लागतमा निर्माण भएको तटबन्ध र स्पर बगाएको हो । नदी कटानले लम्बाई करिब ३ सय मिटर र चौडाई ३ मिटर कटान गरेको आयोजना प्रमुख सुदिन मुक्तानले बताए । 

तटबन्धको सडक ५ मिटरमध्ये अब २ मिटर कटान हुनासाथ कर्णाली बस्तीमा पस्ने जोखिम बढेको छ । ‘कटान रोकिएको छैन,’ उनले भने, ‘आपतकालीन तटबन्धका लागि वर्षातमा बोल्डर(ठूला ढुंगा) पाइँदैनन ।’ गेरुवा गाउँपालिका–२ बनघुस्राका स्थानीय तटबन्ध बगाएपछि बाढी पस्ने भन्दै त्रसित्र बनेका छन् ।

सोमबारदेखि लगातार पानी परिरहेकोले कर्णालीमा जलस्तर बढदै गएको छ । बिहान ७ दशमलव ८ मिटर पानीको बहाव रहेको छ । कर्णालीमा १० मिटर पुग्नासाथ बाढी आउने गर्छ । गेरुवा–२ का वडाध्यक्ष कृष्ण थारुले नदी कटान तीव्र भएको बताए । 

Banghusra village of Geruwa is at risk after the Karnali river started to overflow its embankment

नदीमा बनाइएको तटबन्ध सँगै स्पर बगाएकाले कर्णालीले धार परिवर्तन गरी बनघुस्रा, बनकटटी, सनकटटी, टिकुलीगढ, लोहार लगायतका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ । कमसल तटबन्ध भएका कारण नदीले सहजै कटान गरेको स्थानीयको आरोप छ । 

अस्थायी रुपमा नदी कटान रोक्न सोमबार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधिसहित स्थानीयले बोरामा बालुवा, स्याउला भरेर तटबन्ध गरिने गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बताए । यसका लागि पालिकाले जेसिभी, ट्याक्टरलगायतका सवारी साधन उपलब्ध गराउने भएको उनले जनाए ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully