स्थानीय युवराज काफ्लेले बुबाको स्मृतिमा स्थापना गरेको कुश्माखर ट्रस्टद्वारा पुरस्कार प्रदान गरिएको हो ।
तिलोत्तमा — कान्तिपुरकर्मी मनोज पौडेल आइतबार केटी अवार्डबाट सम्मानित भएका छन् । १८ औं राष्ट्रिय पुस्तकालय दिवसको उपलक्ष्यमा लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको १३ औं वार्षिक साधारण सभामा कुश्माखर ट्रस्टद्वारा पत्रकारिता विधातर्फ प्रदान गरिएको हो । कुश्माखर ट्रस्ट (केटी) अवार्ड बर्सेनि प्रदान गर्दै आएको छ ।
सैनामैना नगरपालिकाको बासगढीमा आयोजित कार्यक्रममा नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले दोसल्ला ओढाएर सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका हुन् । समाचार लेखनसँगै फोटो पत्रकारिताका माध्यमबाट मोफसलमा क्रियाशील रही बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटकीय विकास, शान्ति र आध्यात्मिक पर्यटन विकाससँगसँगै पर्या पर्यटकीय आकर्षण उजागर गरेर महत्त्वपूर्ण योगदान गरेबापत अवार्ड प्रदान गरिएको कार्यक्रममा उद्घोष गरिएको थियो ।
कान्तिपुरकर्मी पौडेलसँगै साहित्य विधातर्फ रूपन्देहीकी सुमिना कुँवर र स्वास्थ्य विधातर्फ पाल्पाकी स्वास्थ्यकर्मी वसन्ता कुँवर सिलवाललाई पनि उक्त अवार्ड नगर प्रमुख शर्माले प्रदान गरेका थिए ।
उक्त अवार्ड स्थानीय युवराज काफ्लेले बुबा कुश्माखर काफ्लेको स्मृतिमा स्थापना गरेको कुश्माखर ट्रस्टद्वारा प्रदान गरिएको हो ।
