सहकारीबाट जनताको रकम दुरुपयोग गर्नेलाई सरकारले निरुत्साहित गर्दैछ : मन्त्री पन्थी

सरकार, सहकारी र नागरिकबीच सहकार्य र संवादमा ढिलाइ हुँदा सहकारी गम्भीर समस्या पैदा भएको लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले बताए ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

The government is discouraging those who misappropriate public funds from cooperatives: Minister Panthi

What you should know

काठमाडौँ — लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले सहकारीबाट जनताको रकम दुरुपयोग गर्नेलाई निरुत्साहित गरिरहेको बताएका छन् । 

गुल्मीको तम्घासमा मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभामा मन्त्री पन्थीले यस्तो बताएका हुन् । सरकार, सहकारी र नागरिकबीच सहकार्य र संवादमा ढिलाइ हुँदा सहकारी गम्भीर समस्या पैदा भएको लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले बताए । 'सहकारीमा जनताको विश्वास हुनु विश्वव्यापी नियम नै हो', मन्त्री पन्थीले भने, 'सहकारीबाट जनताको रकम दुरुपयोग गर्नेलाई राज्यले निरुत्साहित गर्दैछ ।' ढिलो भएपनि समस्या पहिचान भएको उनको धारणा छ ।

मन्त्री पन्थीले स्थानीय, प्रदेश र संघीय सरकारले सहकारीमा जनताको पुरानै विश्वास कायम गराउन लाग्नुपर्ने बताए । सहकारीमा भएका बेथितिहरूलाई सरकारले नियमनमा ल्याउने लुम्बिनी प्रदेशको तर्फबाट उनले प्रतिबद्धता व्यक्त गरे । सहकारीका कार्यक्षेत्रमा राज्यको भूमिका प्रभावकारी नहुँदा समस्या पैदा भएकोले यो समस्या हटाउन सरकारकै भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।

मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २४ औं वार्षिक साधारणसभाको अवसरमा प्रथम एकाइसभा पनि गरेको छ । सहकारीमा पछिल्लो एक वर्षमा ३ सय ५३ जना सदस्यबाट बाहिरिएको र ४ सय १३ जना सदस्यमा आबद्ध भएको सहकारीका अध्यक्ष शंकरप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार, सहकारीमा १३ हजार ७ सय ९१ सदस्य छन् । सहकारीका गुल्मीमा ५ वटा र रुपन्देहीमा १, कपिलवस्तुमा १ र अर्घाखाँचीमा १ शाखा छन् । सहकारीमा हाल ९५ करोड कुल पुँजी रहेको छ ।

कान्तिपुर

Link copied successfully