पालिकाले ९ वटा माविका प्रअलाई सेतो प्लेटको मोटरसाइकल वितरण गरेको एक साता नबित्दै भत्ता वृद्धि गरेको हो ।
बर्दिया — ठाकुरबाबा नगरपालिकाले संघीय सरकारले उपलब्ध गराउँदै आएको प्राथमिक विद्यालयदेखि मावि प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गरेको छ ।
शुक्रबार बसेको शिक्षा समितिको बैठकले संघीय सरकारले प्रअलाई दिँदै आएको भत्ता बढाएर ३ हजार रुपैयाँ पुर्याएको नगरप्रमुख तिलक लम्सालले बताए ।
निमाविले यसअघि संघीय सरकारबाट मासिक ३ सय भत्ता पाउँदै आएकामा ८ दशमलव ३३ प्रतिशत वृद्धि गरी २ हजार ५ सय पुर्याइएको छ । प्राविमा प्रअले पाउँदै आएको २ सय रुपैयाँबाट बढाएर एक हजार प्रतिशत वृद्धि गरी २ हजार पुर्याएको नगर प्रमुख लम्सालले जनाए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले प्रधानाध्यापकले विद्यालयमा नवप्रवर्धनान्मक कार्य गर्न वार्षिक थप ६ लाख बजेट खर्च हुने बताए । पालिकाको शिक्षामा सुधारसहित उच्च मनोबल राखी, कुशल नेतृत्व र जवाफदेहिता अभिबृद्धि गर्न यो निर्णय भएको उनले जनाए ।
पालिकाले ९ वटा माविका प्रअलाई सेतो प्लेटको मोटरसाइकल वितरण गरेको एक साता नबित्दै भत्ता वृद्धि गरेको हो । ठाकुरबाबामा ९ वटा मावि, ४ वटा आधारभूत र ५ वटा प्रावि रहेका छन् ।
