गर्मीको बेला पानी खोज्दै गैंडा सीमावर्ती भारतीय आरक्षमा पुगेका छन्, अनुगमनपछि संख्या यकिन गर्ने तयारी छ।
What you should know
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका करिब २० भन्दा बढी गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षमा गएको करिब महिना बढी भयो । अहिले सम्म ती गैंडा बर्दिया निकुञ्जमा अहिलेसम्म फर्केका छैनन् ।
गर्मीयाममा आहाल खोज्दै गएका गैंडा सीमावर्ती भारतीय आरक्षमा पुगेका थिए । त्यहाँ पानीको स्रोत प्रशस्त भएका कारण आहालका लागि गैंडा त्यहाँ जाने गरेका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेका अनुसार आगामी असोस कात्तिकमा वर्षायाम सकिएपछि अनुमगन गरी गैंडाको संख्या यकिन गर्ने तयारी छ ।
उनले भने, ‘बर्दिया निकुञ्ज हुँदै बग्ने गेरुवा नदीमा पानी सुकेका कारण ती गैंडा पिउने भारतीय आरक्षमा पुगेका हुन् ।’ गेरुवा नदीमा जलस्तर वर्षायाममा बढे पनि गैंडा फर्केको देखिँदैन ।
बर्दिया निकुञ्जका सूचना अधिकारी एंव वरिष्ठ संरक्षण अधिकृत सरोजमणी पौडेलले पानी र आहारका लागि गैंडा नेपाल र भारतीय क्षेत्रमा आवतजात गर्ने गरेको बताए । जैविक मार्ग भएका कारण वन्यजन्तु बर्दिया निकुञ्ज र कतरनियाघाट आरक्षमा आउजाउ गर्ने गरेको उनको भनाइ छ ।
सन् २०२२ को गणनामा बर्दिया निकुञ्जमा ३८ वटा गैंडा थिए । तीमध्ये तीन वटा गैंडाका केटाको बाघ र प्राकृतिक कारणले मृत्यु भइसकेको छ । खाता जैविकमार्गबाट हात्ती, बाघ, गैंडा लगायतका वन्यजन्तु ओहोर दोहोर गर्छन् । खाता जैविकमार्ग डिभिजन वन कार्यालय अन्तर्गत पर्दछ । यसवर्ष चैतमा राष्ट्रिय स्तरमा गैडा गणना गर्ने कार्यक्रम रहेको छ ।
जिपीएस रेडियो कलर नभएका कारण गैंडाको अवस्था बुझ्न गाहृो भएको निकुञ्जका अधिकारी बताउँछन् । नेपालबाट गएका गैंडा नफर्किउन् भनेर भारतीय आरक्षमा सुरक्षाका लागि खटिएका वनकर्मीले रोक्ने प्रयास गर्दै आएको स्थानीय संरक्षणकर्मीले बताएका छन् ।
सन् २०१० मा पहिलो पटक सिमावर्ती भारतीय आरक्षमा दुई वटा गैंडा पुगेका थिए । त्यसपछि भारतीय वन विभागले गैंडाका लागि पिउने पानी र घोल बनाएको राष्ट्रिय प्रकृति कोष बर्दियाका प्रमुख तुम्फाहाम्फेले बताए । बर्दिया निकुञ्जमा सरकारले यथा सिघ्र गैंडा व्यवस्थापनका लागि काम गरिएन भने यहाँबाट लोप हुने अवस्था आउने उनको भनाइ छ ।
गैंडा भारतमा भएको जानकारी पाउनासाथ बर्दिया निकुञ्जले अनुगमन गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता अन्तर्राष्ट्रिय जैविक मार्गसँग भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष पर्दछ । भारतीय सीमा कतरनियाघाट आरक्षमा १४ वर्ष अघिसम्म एउटा पनि गैंडा थिएन ।
अहिले बर्दिया निकुञ्जबाट गएका गैंडाको बासस्थान बन्दै गएको छ । सन् १९८६ मा पहिलो पटक चितवन निकुन्जबाट बर्दियाको कर्णाली नदी तटिय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा स्थानान्तरण गरिएको थियो । त्यसपछि ७० वटा गैंडा बबई उपत्यकामा छाडिएको थियो ।
द्वन्द्वकालमा भने चोरी शिकारका कारण गैंडा लोप हुने स्थितिमा पुगेका थिए । चितवनबाट बर्दिया निकुन्जमा स्थानान्तरण गरिएका ८३ गैंडामध्ये द्वन्द्वकालमा चोरी शिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मारिएका थिए । १५ वर्ष यता भने बर्दिया निकुन्जमा गैंडाको चोरी शिकार शून्य छ ।
