भूमि विधेयकको विरोधमा जसपा नेपालको प्रदर्शन

सरकारले वनजंगल विनाश गरेर मधेशलाई मरुभूमि बनाउन खाजेको जसपाको आरोप छ ।

भाद्र १२, २०८२

सन्जु पौडेल

JSPA Nepal protest against the Land Bill

What you should know

तिलोत्तमा — उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भूमि विधेयकको विरोधमा उत्रिएको छ । जसपा नेपाल जिल्ला समिति, रुपन्देहीले बिहीबार भूमि विधेयकको विरोध गर्दै भैरहवामा प्रदर्शन गरेको हो ।

पार्टीको केन्द्र तथा प्रदेश समितिको निर्देशनअनुसार प्रदर्शनमा उत्रिएको जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए । सिद्धार्थनगर नगरपालिका–४ स्थित राम जानकी हनुमान मन्दिरबाट सुरु भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी हुँदै मिलनचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

विरोध सभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । उनले सरकारले यो आन्दोलनलाई कमजोर ठाने अझ सशक्त रुपमा अगाडि बढ्ने चेतावनी दिए । वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको आरोप उनको छ ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य निलम यादवले भूमि विधेयक जनताको पक्षमा नरहेको दाबी गरिन् । उनले जसपा नेपालले भूमि विधेयक पारित हुन नदिएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको बताइन् । वर्तमान सरकारले वनजंगल विनाश गरेर मधेशलाई मरुभूमि बनाउन खाजेको भन्दै उनले भूमि जोगाउनका लागि आफूहरु आन्दोलनमा उत्रनु परेको बताइन् ।

जसपा नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भई तराई–मधेश मरुभूमिकरण हुने भएकाले सुरुदेखि नै यसको विपक्षमा रहेको बताएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully