डहरे खोलामा पानी पर्नासाथ खोला कालो लेदो माटोसहित आउँदा बाटो नै हराउने गर्छ ।
गुल्मी — रिडी–वामी सडकखण्डको डहरे खोलामा सडक अवरुद्ध भएको छ । बिहीबार दिउँसोदेखि परेको वर्षाले पानीको बहाव बढेपछि डहरे खोलामा सडक अवरुद्ध भएको हो । सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
यो बुटवल–बुर्तिवाङ सडकखण्डको रुद्रवेणी–वामी खण्ड हो । डहरे खोलामा पानी पर्नासाथ खोला कालो लेदो माटोसहित आउँदा बाटो नै हराउने गर्छ ।
यस पटकको वर्षायाममा पटक–पटक डहरे खोलामा सडक अवरुद्ध हुँदै आएको छ। जसका कारण यो सडक भएर हिँड्ने सार्वजनिक तथा निजी सवारीसाधनका यात्रुलाई सास्ती भएको छ। यही खोलामा निर्माणाधीन पक्की पुल भने निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र जस्तै छ। बजेट सुनिश्चित नगरी ठेक्का लागेको उक्त पुलमा खोलाले पटक–पटक गाडी बगाएपछि हाल निर्माण कार्य सुरु गरिएको छ।
