१४ जिल्लाका विद्यार्थी पाल्पा टेक्निकलबाट दीक्षित

१४ जिल्लाका विद्यार्थीलाई पाल्पा टेक्निकल इन्स्टिच्युटले पहिलो पटक दीक्षित गरेको छ । इन्स्टिच्युटले हेल्थ असिस्टेन्टका ३९ जना विद्यार्थीलाई सोमबार दीक्षित गरेको हो ।

भाद्र ९, २०८२

माधव अर्याल

Students from 14 districts are initiated from Palpa Technical

What you should know

पाल्पा — १४ जिल्लाका विद्यार्थीलाई पाल्पा टेक्निकल इन्स्टिच्युटले पहिलो पटक दीक्षित गरेको छ । इन्स्टिच्युटले हेल्थ असिस्टेन्टका ३९ जना विद्यार्थीलाई सोमबार दीक्षित गरेको हो । हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियनको पठनपाठन हुँदै आएको यस इन्स्टिच्युटले ३०औँ वार्षिकोत्सवका अवसरमा यहाँ अध्ययन गर्न आएका विद्यार्थीलाई प्रथम दीक्षान्त समारोह राखेको प्रिन्सिपल त्रिलोचन पौड्यालले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बीरबहादुर राना, इन्स्टिच्युटका अध्यक्ष भेषराज नेपाल, प्रिन्सिपल त्रिलोचन पौड्यालले टोपी पहिर्याउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।

हेल्थ असिस्टेन्ट तहमा पहिलो ब्याचले आफ्नो पठनपाठन पूरा गरेका छन् भने विभिन्न विद्यामा सर्वोत्तम विद्यार्थीहरू विभिन्न पदक तथा पुरस्कारबाट पुरस्कृत भएको प्रिन्सिपल पौड्यालले बताए ।

पाल्पा टेक्निकल इन्स्टिच्युटले हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियनको पठनपाठन हुनुअघि अनमी, सिएमए, ल्याब असिस्टेन्ट र अहेब कार्यक्रम संचालन गर्दै आएको थियो ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तिमिल्सेना प्राविधिक शिक्षा अध्ययन गर्ने प्राविधिक जनशक्ति अहिलेको श्रम बजारका लागि आवश्यक रहेको बताए । मन्त्री तिमिल्सेना अनुसार पहाडी जिल्लामा रहेको यस इन्स्टिच्युटले लुम्बिनी प्रदेशका धेरै जिल्लाका विद्यार्थीलाई सेवा दिएको र आगामी दिनमा थप विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने अवसर रहेको बताए ।

‘श्रम बजारमा आवश्यक रहेको हेल्थ असिस्टेन्ट (एचए) र ल्याब असिस्टेन्ट अध्यापन गराएर सरकारलाई ठूलो सहयोग पुगेको छ,’ उनले भने, ‘अहिले प्राविधिक जनशक्तिलाई रोजगार र स्वरोजगारमा समस्या छैन ।’

Students from 14 districts are initiated from Palpa Technicalलुम्बिनी प्रदेशसभा सदस्य बीरबहादुर रानाले आफूलाई विज्ञ र दक्ष बनाउन सिकाइलाई अझ बढाएर लैजान विद्यार्थीलाई आग्रह गर्दै इन्स्टिच्युटले सयौं विद्यार्थीलाई उत्तीर्ण गराएर दुर्गम गाउँसम्म पुगेर सेवा गर्न सक्षम बनाएको बताए ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पाल्पाका मात्र नभई अन्य जिल्लाका विद्यार्थीलाई पनि प्राविधिक शिक्षा दिलाएको बताए ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले दुर्गमका विपन्न परिवारका विद्यार्थीले पनि तानसेनमा आएर सस्तो र सुविधायुक्त पढाइ पढ्न पाएको बताए ।

युनाइटेड मिसन अस्पतालकी प्रमुख डा. रचेल कार्ख, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति बाबुराम कार्की, समाजसेवी माधव नेपाल, तानसेन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुनिल बस्याल लगायतले पाल्पामा पहिलो पटक यसरी दिक्षान्त समारोह राखेर विद्यार्थीलाई हौसला बढाएको बताए ।

कार्यक्रममा पाल्पा टेक्निकल इन्स्टिच्युटका प्रिन्सिपल पौड्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा इ-लाइब्रेरी, श्रव्यदृश्य सामग्री थप व्यवस्थापन, प्रयोगशालालाई स्तरोन्नति गर्दै लैजाने, शिक्षकलाई थप तालिमको व्यवस्था गर्ने लगायतका काम गरिने बताए ।

चिकित्सा शिक्षा आयोगको अदूरदर्शिता एवं गलत निर्णयबाट अधिकांश विद्यार्थी देशभन्दा बाहिर अध्ययनका लागि जाने भएकाले अधिकांश कलेजमा कोटा भन्दा कम विद्यार्थीको उपस्थिति रहेको उनले बताए ।

कार्यक्रममा पाल्पा टेक्निकल इन्स्टिच्युटका अध्यक्ष भेषराज नेपाल, सदस्य बुद्धिप्रसाद शर्मा, शिक्षण समिति अध्यक्ष तथा प्रशिक्षक दिपेश ज्ञवालीलगायतले इन्स्टिच्युटको भौतिक अवस्थामा सुधार, उपयुक्त कर्मचारी तथा शिक्षकको व्यवस्थापन, आवश्यक शैक्षिक सामग्रीमा संख्यात्मक वृद्धि भएको बताएका थिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully