रूपन्देहीमा भन्सार छलीका ४ करोडका सामान बरामद

रूपन्देही प्रहरीले साउनमा गैरकानुनी कार्यमा संलग्न २२ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ ।

भाद्र ९, २०८२

दीपेन्द्र बडुवाल

Customs evasion goods worth 4 crore seized in Rupandehi

What you should know

भैरहवा — जिल्ला प्रहरी रुपन्देहीले कडाइ गरेपछि भन्सार छलेर भित्र्याइएका समान धमाधम बरामद हुन थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि भदौ पहिलो सातासम्म प्रहरीले यसरी भित्र्याइएका सवा चार करोडका सामान बरामद भएको छ । 

जिल्ला प्रहरीका अनुसार गत साउनमा २ करोड १७ लाख ८७ हजार ३ सय ५९ रुपैयाँ बराबरका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी र मातहत युनिटबाट खटिएका टोलीले सामान बरामद गरेका थिए । प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार भदौ पहिलो सातामात्रै एक करोड ९४ लाख ३८ हजार ५ सय बराबरका सामान र सवारी नियन्त्रणमा लिइएको छ । तस्करी गरेर भित्र्याइएका सामान ओसारपसारमा संलग्न व्यक्ति पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले बरामद गरिएका सामानमा कपडा, हार्डवेयर, किराना, ब्रोइलर कुखुरा, रेडबुल, वायरिङका तार छन् । चार दिनअघि लुम्बिनी क्षेत्रबाट पिकअप गाडी, विद्युतीय चुरोटसहितका १ करोड ७१ लाख २५ हजार बराबरका सामान बरामद गरेको थियो । यसरी बरामद सामान भैरहवा भन्सार, पशु क्वारेन्टाइन कार्यालय र राजस्व अनुसन्धान कार्यालयमा थप कारबाहीका लागि बुझाइएको प्रहरी उपरीक्षक क्षेत्रीले जनाए ।

‘तस्करी रोक्न प्रहरीले विशेष निगरानीसहित सीमा क्षेत्रमा अभियान चलाएको छ,’ उनले भने, ‘दिनरात नभनी प्रहरीले निगरानी गरेका कारण सामान बरामद गर्न सफल भएका हौं ।’

साउनमा १३ लाखका किराना सामग्री, ८८ लाखका कपडा, २८ लाखका चल्ला तथा कुखुरा, ६९ लाखका सवारीसाधन लगायत सामान बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार यस अवधिमा गैरकानुनी कार्यमा संलग्न २२ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । त्यस्तै ५६ वटा मोटरसाइकल, १ वटा ट्रक, २ वटा अटो पनि नियन्त्रणमा लिइएको कार्कीले बताए । 

प्रहरीले विभिन्न स्थानबाट अवैध माटो तथा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ४ वटा ट्र्याक्टर र ३ वटा टिपर, नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित पालिकाको कार्यालयमा पठाइएको छ । प्रहरीले भदौ पहिलो साता नक्कली शैक्षिक प्रमाणपत्र बनाउने एक भारतीय र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जनाएको छ । 

दीपेन्द्र

Link copied successfully