प्रत्येक वर्ष कोदो खेती गर्ने क्षेत्रफल र उत्पादन घट्दै, अहिले जिल्लामा २ हजार ८ सय २२ हेक्टरमा मात्रै कोदो खेती गरिँदै ।
What you should know
गुल्मी — कोदो खेती गर्दा प्रचलनमा रहेको हुद्दा संस्कृति गुल्मीमा क्रमशः लोप हुँदै गएको छ । धेरै क्षेत्रफलको बारीमा एक्लाएक्लै कोदो रोप्दा लामो समय लाग्ने भएकाले धेरै खेतालाबाट एकैदिन रोपेर सक्नका लागि हुद्दा लगाउने प्रचलन छ ।
खेतीपातीका बेला किसानहरू मिलेर आलोपालो काम गर्न बनेको एक किसिमको समूहलाई हुद्दा भनिन्छ । हुद्दाले खेतालासँग मात्रै होइन, स्थानीय लोकभाकाका गीत, मादल, झ्याली र सहनाइसँग पनि उत्तिकै सम्बन्ध राख्छ । गुल्मीको पूर्वी भागमा अलिक कम र पश्चिम भागमा रहनसहनकै रूपमा प्रचलित हुद्दा संस्कृति अहिले बिस्तारै हराउँदै गएको हो ।
मालिका गाउँपालिका–६ अर्जैका दधिराम अर्यालको बारीमा २०३० देखि २०५० सम्म प्रत्येक वर्ष साउनमा हुद्दा चल्थ्यो । १६ रोपनी क्षेत्रफलको बारीमा कोदो रोप्न हजुरबुबा आत्मराम र बुबा छविलाल अर्यालले हुद्दामार्फत कोदो रोप्ने गरेको दधिरामले सुनाए । ‘अब त कोदो रोप्ने बारी पनि घटेर ५ रोपनी भयो,’ उनले भने, ‘हुद्दा हराउँदै गयो, सँगसँगै हाम्रा पुराना रीतिरिवाज पनि हराउँदै गएका छन् ।’
दधिराम अहिले ४५ वर्षका पुगे । तर, उनले कोदो रोपाइँको हुद्दा संस्कृति बाल्यकालमा देखेको मात्रै याद भएको बताए । ‘बारीमा कोदो रोप्दा हुद्दा र खेतमा धान रोप्दा वाली गाउने परम्परा लोप भएका छन्,’ उनले भने, ‘तपाईं–हामी सबैले खेती गर्ने र संस्कृतिको चिन्ता गरे त्यो फेरि ब्युँतिन पनि सक्छ ।’ कोदो रोप्दा धेरै दुःख हुने, रोप्न महिनाभर लाग्ने र खेतालाको अभावका कारण गीत गाउँदै नाच्दै रमाइलो गर्दै रोप्न हुद्दा परम्परा चलेको हजुरबुबाले भन्ने गरेको उनले बताए ।
जिल्लाको छत्रकोट गाउँपालिका–१ हुँगामा रोपाइँ संस्कृति मात्रै होइन, कोदो रोपाइँ नै हुन छाडेको छ । हुँगाको झेर्दीका टीकाराम न्यौपानेले आफैंले २५ देखि ३० जना लिएर हुद्दा लगाउने गरेकामा अहिले कोदो रोपाइँ नै हुन छाडेको गुनासो गरे ।
‘युवाजति विदेश पुगेका, उनका दुलही बुटवल झरे । अब गाउँमा हामी ६० कटेका बुढापाका मात्रै छौं,’ उनले भने, ‘अब त हुद्दा मात्रै होइन, कोदो रोपाइँ नै लोप हुने खतरा बढ्यो ।’ ९ रोपनी क्षेत्रफलको बारीमा कोदो लगाएर १८ मुरी उत्पादन गर्ने उनले हाल कोदोको नामोनिसाना नै नभएको बताए ।
१० वर्षसम्म हुद्दामार्फत कोदो रोपेका उनले पछिल्ला केही वर्षदेखि यो संस्कृति नै हराएर गएको बताए । गाउँमा जग्गा पनि बाँझिएको र खेती गर्ने ठाउँमा पनि बाँदरले सत्यानाश गर्दा किसानले खेती गर्न नै छोडेको टीकारामको गुनासो छ ।
अर्जैका दुर्गा पराजुलीले कोदो रोप्दाको हुद्दा परम्परा विस्थापित भएको बताए । आफ्नो सानैदेखिको रहरका कारण यस वर्ष भने हुद्दामार्फत १२ रोपनी क्षेत्रफलको बारीमा कोदो रोपेको उनले सुनाए । ‘अर्जैसहित छिमेकी पाखामा हुद्दाको चलन चलेको देख्दा रहर लाग्थ्यो,’ उनले भने, ‘पछि विस्थापित बन्यो, मैले यस वर्ष रहर गरेर हुद्दामार्फत कोदो रोपेँ ।’
सहनाई, मादल र झ्यालीको तालमा गुञ्जिरहेको लोकभाकासँगै काम गर्दा पत्तै नभएको र एकैदिनमा रोपाइँ सकिएको पराजुलीले बताए । ‘पुरानो संस्कृति जोगाउन पहिलोपटक हुद्दा लगाएर कोदो रोपेको छु,’ उनले भने, ‘लोप हुँदै गएको परम्परालाई रहर गरेर एकपटक समाजलाई सम्झना दिलाएको हुँ ।’ उनले हुद्दामा बाजा र गीतमा ९ जना, खेतालामा पुरुष र महिला गरी ३५ जनामार्फत रोपाइँ गरेका हुन् ।
सहनाई बजाउनेलाई २ हजार, अन्य वाद्यवादक र गीत गाउनेलाई जनही १ हजार, पुरुष कामदारलाई ७ सय ५० र महिला कामदारलाई जनही ४ सय रुपैयाँका दरले कोदो रोपेको ज्याला दिएको उनले सुनाए ।
राम्रै ज्यालामा पनि खेतालाको अभाव हुने भएकाले हुद्दा चलाउँदा खेतालाको सुविधा भएको पराजुलीले बताए । ५२ वर्षीय उनले सानैदेखि देखेको परम्परालाई एकपटक ब्यूँताएको बताए ।
‘मेरो माया छ भने त्यता, पानी खानी निहुँ पारी आऊ यता’ भन्ने स्थानीय भाकासहित पुराना लोकभाका, पोखराको सेती दोभान दोहोरीसहित मादल, झ्याली र सहनाईले कोदो रोपाइँ गुन्जिएको थियो । लोप हुँदै गएको यो परम्परा मालिकाकै छापहिलेमा पनि देखिएको थियो । स्थानीय जीवा गिरीले यही परम्परामार्फत कोदो रोपेका छन् ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार पछिल्ला वर्षमा जिल्लामा कोदो उत्पादन क्षेत्रफल र उत्पादकत्व दुवै घटेको छ । आर्थिक वर्ष २०७९/०८० मा २ हजार ९ सय २१ हेक्टरमा ३ हजार ८ सय २६ मेट्रिक टन कोदो उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ८ सय ८३ हेक्टरमा ३ हजार ६ सय ९० मेट्रिक टन कोदो उत्पादन भएको थियो ।
२०८१/०८२ मा २ हजार ८ सय ५० हेक्टरमा ३ हजार ६ सय ४८ मेट्रिक टन कोदो उत्पादन भएको केन्द्रका सूचना अधिकारी शिवप्रसाद बन्जाडेले बताए । यसरी हेर्दा प्रत्येक वर्ष कोदो उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै घटेको छ । यस वर्ष पनि थप घट्ने केन्द्रको प्रक्षेपण छ ।
यस आर्थिक वर्षमा कोदो उत्पादन हुने क्षेत्रफल २ हजार ८ सय २२ हेक्टर रहने र जसबाट ३ हजार ६ सय १२ मेट्रिक टन कोदो उत्पादन हुने अनुमान छ । जिल्लामा हालसम्म ७२ प्रतिशत कोदो रोपाइँ सम्पन्न भएको छ ।
पछिल्लो समय सहरमा कोदोको माग बढ्दै गए पनि उत्पादनमा भने गिरावट आइरहेको छ । लगानीअनुसार प्रतिफल प्राप्त नहुनाले पनि कोदो खेतीमा बिस्तारै आकर्षण कम हुँदै गएको हो । मकैबारीमा कोदो खेतीलाई व्यावसायिक खेतीका रूपमा विकास गर्नै सकिएको छैन ।
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बाली संरक्षणका लागि विभिन्न कार्यक्रम संचालनमा रहेको बताए । ‘हुद्दा एक–दुई ठाउँमा देखिएको छ, यसलाई जोगाउन किसान नै जागरुक हुनुपर्छ,’ उनले भने, ‘कोदोको माग बढेकाले किसानलाई प्रोत्साहन गर्ने योजना छ ।’
