हराउँदै हुद्दा संस्कृति, घट्यो कोदो खेती

प्रत्येक वर्ष कोदो खेती गर्ने क्षेत्रफल र उत्पादन घट्दै, अहिले जिल्लामा २ हजार ८ सय २२ हेक्टरमा मात्रै कोदो खेती गरिँदै ।

भाद्र ८, २०८२

सन्तोष महतारा

Hudda culture is disappearing, millet cultivation has decreased

What you should know

गुल्मी — कोदो खेती गर्दा प्रचलनमा रहेको हुद्दा संस्कृति गुल्मीमा क्रमशः लोप हुँदै गएको छ । धेरै क्षेत्रफलको बारीमा एक्लाएक्लै कोदो रोप्दा लामो समय लाग्ने भएकाले धेरै खेतालाबाट एकैदिन रोपेर सक्नका लागि हुद्दा लगाउने प्रचलन छ ।

खेतीपातीका बेला किसानहरू मिलेर आलोपालो काम गर्न बनेको एक किसिमको समूहलाई हुद्दा भनिन्छ । हुद्दाले खेतालासँग मात्रै होइन, स्थानीय लोकभाकाका गीत, मादल, झ्याली र सहनाइसँग पनि उत्तिकै सम्बन्ध राख्छ । गुल्मीको पूर्वी भागमा अलिक कम र पश्चिम भागमा रहनसहनकै रूपमा प्रचलित हुद्दा संस्कृति अहिले बिस्तारै हराउँदै गएको हो । 

मालिका गाउँपालिका–६ अर्जैका दधिराम अर्यालको बारीमा २०३० देखि २०५० सम्म प्रत्येक वर्ष साउनमा हुद्दा चल्थ्यो । १६ रोपनी क्षेत्रफलको बारीमा कोदो रोप्न हजुरबुबा आत्मराम र बुबा छविलाल अर्यालले हुद्दामार्फत कोदो रोप्ने गरेको दधिरामले सुनाए । ‘अब त कोदो रोप्ने बारी पनि घटेर ५ रोपनी भयो,’ उनले भने, ‘हुद्दा हराउँदै गयो, सँगसँगै हाम्रा पुराना रीतिरिवाज पनि हराउँदै गएका छन् ।’ 

दधिराम अहिले ४५ वर्षका पुगे । तर, उनले कोदो रोपाइँको हुद्दा संस्कृति बाल्यकालमा देखेको मात्रै याद भएको बताए । ‘बारीमा कोदो रोप्दा हुद्दा र खेतमा धान रोप्दा वाली गाउने परम्परा लोप भएका छन्,’ उनले भने, ‘तपाईं–हामी सबैले खेती गर्ने र संस्कृतिको चिन्ता गरे त्यो फेरि ब्युँतिन पनि सक्छ ।’ कोदो रोप्दा धेरै दुःख हुने, रोप्न महिनाभर लाग्ने र खेतालाको अभावका कारण गीत गाउँदै नाच्दै रमाइलो गर्दै रोप्न हुद्दा परम्परा चलेको हजुरबुबाले भन्ने गरेको उनले बताए ।

जिल्लाको छत्रकोट गाउँपालिका–१ हुँगामा रोपाइँ संस्कृति मात्रै होइन, कोदो रोपाइँ नै हुन छाडेको छ । हुँगाको झेर्दीका टीकाराम न्यौपानेले आफैंले २५ देखि ३० जना लिएर हुद्दा लगाउने गरेकामा अहिले कोदो रोपाइँ नै हुन छाडेको गुनासो गरे ।Hudda culture is disappearing, millet cultivation has decreased

‘युवाजति विदेश पुगेका, उनका दुलही बुटवल झरे । अब गाउँमा हामी ६० कटेका बुढापाका मात्रै छौं,’ उनले भने, ‘अब त हुद्दा मात्रै होइन, कोदो रोपाइँ नै लोप हुने खतरा बढ्यो ।’ ९ रोपनी क्षेत्रफलको बारीमा कोदो लगाएर १८ मुरी उत्पादन गर्ने उनले हाल कोदोको नामोनिसाना नै नभएको बताए ।

१० वर्षसम्म हुद्दामार्फत कोदो रोपेका उनले पछिल्ला केही वर्षदेखि यो संस्कृति नै हराएर गएको बताए । गाउँमा जग्गा पनि बाँझिएको र खेती गर्ने ठाउँमा पनि बाँदरले सत्यानाश गर्दा किसानले खेती गर्न नै छोडेको टीकारामको गुनासो छ ।

अर्जैका दुर्गा पराजुलीले कोदो रोप्दाको हुद्दा परम्परा विस्थापित भएको बताए । आफ्नो सानैदेखिको रहरका कारण यस वर्ष भने हुद्दामार्फत १२ रोपनी क्षेत्रफलको बारीमा कोदो रोपेको उनले सुनाए । ‘अर्जैसहित छिमेकी पाखामा हुद्दाको चलन चलेको देख्दा रहर लाग्थ्यो,’ उनले भने, ‘पछि विस्थापित बन्यो, मैले यस वर्ष रहर गरेर हुद्दामार्फत कोदो रोपेँ ।’

सहनाई, मादल र झ्यालीको तालमा गुञ्जिरहेको लोकभाकासँगै काम गर्दा पत्तै नभएको र एकैदिनमा रोपाइँ सकिएको पराजुलीले बताए । ‘पुरानो संस्कृति जोगाउन पहिलोपटक हुद्दा लगाएर कोदो रोपेको छु,’ उनले भने, ‘लोप हुँदै गएको परम्परालाई रहर गरेर एकपटक समाजलाई सम्झना दिलाएको हुँ ।’ उनले हुद्दामा बाजा र गीतमा ९ जना, खेतालामा पुरुष र महिला गरी ३५ जनामार्फत रोपाइँ गरेका हुन् ।

सहनाई बजाउनेलाई २ हजार, अन्य वाद्यवादक र गीत गाउनेलाई जनही १ हजार, पुरुष कामदारलाई ७ सय ५० र महिला कामदारलाई जनही ४ सय रुपैयाँका दरले कोदो रोपेको ज्याला दिएको उनले सुनाए । 

राम्रै ज्यालामा पनि खेतालाको अभाव हुने भएकाले हुद्दा चलाउँदा खेतालाको सुविधा भएको पराजुलीले बताए । ५२ वर्षीय उनले सानैदेखि देखेको परम्परालाई एकपटक ब्यूँताएको बताए ।

‘मेरो माया छ भने त्यता, पानी खानी निहुँ पारी आऊ यता’ भन्ने स्थानीय भाकासहित पुराना लोकभाका, पोखराको सेती दोभान दोहोरीसहित मादल, झ्याली र सहनाईले कोदो रोपाइँ गुन्जिएको थियो । लोप हुँदै गएको यो परम्परा मालिकाकै छापहिलेमा पनि देखिएको थियो । स्थानीय जीवा गिरीले यही परम्परामार्फत कोदो रोपेका छन् ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार पछिल्ला वर्षमा जिल्लामा कोदो उत्पादन क्षेत्रफल र उत्पादकत्व दुवै घटेको छ । आर्थिक वर्ष २०७९/०८० मा २ हजार ९ सय २१ हेक्टरमा ३ हजार ८ सय २६ मेट्रिक टन कोदो उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ८ सय ८३ हेक्टरमा ३ हजार ६ सय ९० मेट्रिक टन कोदो उत्पादन भएको थियो । 

२०८१/०८२ मा २ हजार ८ सय ५० हेक्टरमा ३ हजार ६ सय ४८ मेट्रिक टन कोदो उत्पादन भएको केन्द्रका सूचना अधिकारी शिवप्रसाद बन्जाडेले बताए । यसरी हेर्दा प्रत्येक वर्ष कोदो उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै घटेको छ । यस वर्ष पनि थप घट्ने केन्द्रको प्रक्षेपण छ । 

यस आर्थिक वर्षमा कोदो उत्पादन हुने क्षेत्रफल २ हजार ८ सय २२ हेक्टर रहने र जसबाट ३ हजार ६ सय १२ मेट्रिक टन कोदो उत्पादन हुने अनुमान छ । जिल्लामा हालसम्म ७२ प्रतिशत कोदो रोपाइँ सम्पन्न भएको छ ।

पछिल्लो समय सहरमा कोदोको माग बढ्दै गए पनि उत्पादनमा भने गिरावट आइरहेको छ । लगानीअनुसार प्रतिफल प्राप्त नहुनाले पनि कोदो खेतीमा बिस्तारै आकर्षण कम हुँदै गएको हो । मकैबारीमा कोदो खेतीलाई व्यावसायिक खेतीका रूपमा विकास गर्नै सकिएको छैन ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बाली संरक्षणका लागि विभिन्न कार्यक्रम संचालनमा रहेको बताए । ‘हुद्दा एक–दुई ठाउँमा देखिएको छ, यसलाई जोगाउन किसान नै जागरुक हुनुपर्छ,’ उनले भने, ‘कोदोको माग बढेकाले किसानलाई प्रोत्साहन गर्ने योजना छ ।’

सन्तोष

Link copied successfully