खानेकुरामा अखाद्य रङ मिसाउने होटल व्यवसायीलाई एक लाख जरिवाना, ६ महिना कैद

खाद्य मापदण्ड उल्लंघनमा दोषी ठहरिएका होटल सञ्चालकलाई बाँके जिल्ला अदालतले ६ महिना कैद र १ लाख जरिवानाको फैसला गरेको हो ।

भाद्र ८, २०८२

रुपा गहतराज

A fine of 100,000, 6 months imprisonment for a hotelier who mixed inedible color in food

नेपालगन्ज — बिरयानी, कवाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रङ मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने नेपालगन्जका एक होटल व्यवसायीलाई जिल्ला अदालत बाँकेले एक लाख रुपैयाँ जरिवाना र ६ महिनाको कैद सजायको फैसला सुनाएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज, बाँकेले नेपालगन्ज उपमहानगरपालिका-११ स्थित बिसमिल्ला होटलका सञ्चालक मोहम्मद उमर साईविरुद्द दायर गरेको मुद्दामा बाँके जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ६ महिनाको कैद सजाय गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज बाँकेका खाद्य निरीक्षक रामहरि लामिछानेले दायर गरेको  सो मुद्दामा जिल्ला अदालत बाँकेका न्यायाधीश केशवराज चपाईको इजलासले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरिएको अदालतले जनाएको छ । 

सो होटलको स्थलगत अनुगमन निरीक्षण गर्दा बिरयानी पकाउने ठाउँ खुला रहेको, शौचालयसँग जोडिएको, अत्यधिक फोहोर अवस्था रहेको, झिँगा भन्केको पाइएको, फ्रिजमा अत्यन्त फोहोर  अवस्थामा मासु भण्डारण गरेको, प्लाष्टिकका भाडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रम, चिकन) भण्डारण गरेको, पकाएर खाने खाना बिरयानी र कवाबमा कोरटार रङको प्रयोग गरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । 

कार्यालयले गत वर्ष २०८१ जेठ ५ गते साईविरुद्द जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully